ADVERTISEMENT

प्रशासनपोस्टले उठायो जनताको भान्साको पीडा, भोलिपल्टै सरकारद्वारा मूल्यवृद्धि अध्ययन समिति गठन

महँगी नियन्त्रण र सहज आपूर्तिका उपाय पहिल्याउन सहसचिव घिमिरेको संयोजकत्वमा उच्चस्तरीय समिति

काठमाडौं । बजारमा अनियन्त्रित रूपमा बढिरहेको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा नै प्रभावित हुन थालेपछि प्रशासनपोस्ट डटकमले गरेको खबरदारीको भोलिपल्टै सरकारको ध्यानाकर्षण भएको छ। सरकारले बजारमा मूल्यवृद्धि नियन्त्रण तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने उपाय पहिल्याउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका सहसचिव नमराज घिमिरेको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित अध्ययन समिति गठन गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई बजारमा भइरहेको मूल्यवृद्धिको वास्तविक अवस्था, त्यसका कारण र आपूर्ति प्रणालीमा देखिएका समस्या पहिचान गरी नियन्त्रणका प्रभावकारी उपाय सुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव रुद्रसिंह तामाङले जानकारी दिए ।

प्रशासनपोस्टले बिहीबार मात्रै आफ्नो नियमित खबरदारी स्तम्भ ‘सिंहदरबारको आँखाबाट ओझेलमा’ अन्तर्गत ‘जनताको भान्सा महँगीले थिचिँदै, सर्वसाधारणलाई दुई छाक टार्नै मुस्किल’ शीर्षकमा विस्तृत खबरदारी प्रकाशित गरेको थियो।

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दा न्यून तथा मध्यम आय भएका परिवार सबैभन्दा बढी प्रभावित भएको, आम्दानीको ठूलो हिस्सा खाद्यान्न र भान्साका सामग्रीमै खर्च गर्नुपर्ने अवस्था आएको तथा सर्वसाधारणको क्रयशक्ति कमजोर बन्दै गएको विषयलाई प्रशासनपोस्टले प्राथमिकताका साथ उठाएको थियो।

जनताको भान्सासँग प्रत्यक्ष जोडिएको महँगीको विषयमा प्रशासनपोस्टले खबरदारी गरेको भोलिपल्टै मन्त्रालयले अध्ययन समिति गठन गर्नुले सार्वजनिक सरोकारका विषयमा सञ्चारमाध्यमले उठाउने आवाजको महत्त्वलाई पुनः उजागर गरेको छ।

गठित समितिले मूल्यवृद्धिका कारण, वस्तु तथा सेवाको आपूर्ति शृङ्खला, बजारको वास्तविक अवस्था र सम्भावित विकृति तथा अनियमितताको अध्ययन गर्नेछ। त्यसैगरी बजारमा मूल्य स्थिरता कायम गर्न, अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा उपभोक्ताको हित संरक्षण गर्न आवश्यक नीतिगत र व्यावहारिक उपायसमेत सिफारिस गर्नेछ।

समितिलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ। समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा सरकारले मूल्यवृद्धि नियन्त्रण र आपूर्ति व्यवस्थापनका लागि थप कदम चाल्ने अपेक्षा गरिएको छ।

यद्यपि, महँगीको समस्या अध्ययन र प्रतिवेदनले मात्रै समाधान हुँदैन। बजारमा मूल्यवृद्धि गराउने वास्तविक कारण पहिचान, कृत्रिम अभाव सिर्जना गर्ने तथा अनुचित नाफा असुल्ने प्रवृत्तिमाथि नियन्त्रण, नियमित बजार अनुगमन र प्रभावकारी कारबाही अहिलेको आवश्यकता हो।

जनताको भान्सा सस्तो र सहज बनाउने जिम्मेवारी सरकारको हो। त्यसैले गठित समितिको अध्ययन प्रतिवेदन समयमै सार्वजनिक गरी त्यसका सुझावलाई तत्काल कार्यान्वयनमा लैजानु आवश्यक छ। जनताले खोजेको समिति गठनको औपचारिकता होइन, बजारमा मूल्य घटेको र भान्साको खर्च कम भएको अनुभूति हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार