ADVERTISEMENT

आजका प्रशासनिक हाइलाइट्स :ऐन कागजमै, संघीय निजामती सेवा ऐन आउन ढिलाइ भए ३०–५५ को प्रावधान नै संकटमा पर्न सक्ने,सरुवामा मनपरीदेखि ७८ करोडको हिसाबसम्म

काठमाडौं । निजामती प्रशासनमा कानुनको कार्यान्वयन, कर्मचारी सरुवा, संघीय निजामती सेवा विधेयकको भविष्य र सरकारी खर्चको पारदर्शितामाथि आज विभिन्न प्रश्न उठेका छन्। नापी विभागका १५९ जना अधिकृतको एकैपटक सरुवा, संघीय निजामती सेवा विधेयकका   नयाँ  प्रावधान, मन्त्रिपरिषद्को बैठक अवरुद्ध र प्रधानमन्त्रीको राष्ट्रपतिसँगको भेटलगायत विषय प्रशासनिक वृत्तमा चर्चामा छन्।

एकातिर कर्मचारी प्रशासनलाई व्यवस्थित र पूर्वानुमानयोग्य बनाउने कानुनी व्यवस्थाको कार्यान्वयनमाथि प्रश्न छ भने अर्कोतिर लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐन कहिले आउला भन्ने चासो बढिरहेको छ । यसैबीच सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ७८ करोड ७९ लाख रुपैयाँ वैदेशिक सहायताको हिसाबबारे उठेको प्रश्नले वित्तीय जवाफदेहिताको विषयलाई पनि चर्चामा ल्याएको छ।

आजका प्रमुख प्रशासनिक गतिविधि र समाचारका सात विषय यस्ता छन् :

१. नापीका १५९ अधिकृत एकैपटक सरुवा, निजामती सेवा ऐनको पालना भयो कि भएन ?

कर्मचारी सरुवालाई व्यवस्थित र अनुमानयोग्य बनाउन कानुनले निश्चित प्रक्रिया र मापदण्ड तोकेको छ। तर कर्मचारी सरुवामा ती व्यवस्था पालना भए–नभएको विषयमा पटकपटक प्रश्न उठ्दै आएको छ।

यसैबीच नापी विभागले १५९ जना नापी अधिकृतको एकैपटक सरुवा गरेको विषयले प्रशासनिक वृत्तमा चासो बढाएको छ। निर्धारित सरुवा कार्यतालिकाबाहिर यति ठूलो संख्यामा सरुवा गरिएको हो भने त्यसको कानुनी आधार, प्रशासनिक आवश्यकता र निर्णय प्रक्रियाबारे स्पष्टता आवश्यक हुन्छ।

निजामती सेवा ऐन, २०४९ को दफा १८ मा कर्मचारी सरुवासम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाले सरुवाको अधिकारसँगै प्रक्रिया र कानुनी सीमासमेत निर्धारण गरेको छ।

तर प्रश्न उठ्छ– १५९ अधिकृतको सरुवा कुन मापदण्डका आधारमा गरियो ? सरुवाका लागि सम्बन्धित निकायको सहमति लिइयो कि लिइएन ? प्रशासनिक आवश्यकता थियो वा अन्य आधारले निर्णय प्रभावित भयो ?

कानुनमा व्यवस्था हुनु र त्यसको पालना हुनु फरक विषय हुन्। कर्मचारी सरुवामा कानुनी प्रक्रिया पालना भएको प्रमाण र निर्णयको आधार सार्वजनिक हुनु आवश्यक छ।

२. हजारौँ कर्मचारीको सरुवामा कानुनी प्रश्न, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुगमन किन हुन सकेन् ? 

कर्मचारी सरुवामा कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै प्रश्न उठिरहँदा सरकारको केन्द्रीय प्रशासनिक अनुगमन संयन्त्रको भूमिकामाथि पनि चासो बढेको छ।

विभिन्न मन्त्रालय, विभाग र मातहतका निकायबाट हुने कर्मचारी सरुवामा कानुनी प्रावधान तथा निर्धारित मापदण्ड पालना भए–नभएको अनुगमन गर्नु सरकारको प्रशासनिक जिम्मेवारी हो। तर सरुवासम्बन्धी निर्णयहरू विवादमा पर्दा पनि तिनको छानबिन, अनुगमन र जवाफदेहिताको अवस्था स्पष्ट हुन सकेको छैन।

कानुनविपरीत सरुवा भएको हो भने त्यसलाई सच्याउने र जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउने संयन्त्र सक्रिय हुनुपर्छ। त्यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभए कर्मचारी प्रशासनमा कानुनी अनुशासन कायम गर्न कठिन हुन्छ। अब प्रश्न छ– सरुवासम्बन्धी विवादमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले के अनुगमन गरिरहेको छ ? कानुन कार्यान्वयनको जिम्मेवारी लिने निकायले नै यस विषयमा स्पष्ट धारणा दिनुपर्ने देखिन्छ।

३. यो साता मन्त्रिपरिषद् बैठक बसेन, महत्त्वपूर्ण निर्णय प्रक्रिया प्रभावित

सरकारको नियमित निर्णय प्रक्रियालाई गति दिने प्रमुख संयन्त्र मन्त्रिपरिषद्को बैठक यो साता बस्न सकेन। नियमित बैठक नहुँदा सरकारका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय कहिले र कसरी अघि बढ्छन् भन्ने चासो बढेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठक मंसिर ४  मा बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेलगायत निर्णय गरेको थियो। त्यसपछि  अर्को बैठक बसेको  छैन।

मन्त्रिपरिषद् बैठकबाट संसद् अधिवेशन आह्वान,  र जनजीविकासँग सम्बन्धित नीतिगत विषय टुंगो लाग्न सकेको छैन् । प्रश्न बैठक किन बसेन भन्ने मात्र होइन, सरकारका नियमित कामकारबाही र निर्णय प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने पनि हो।

४. संघीय निजामती सेवा ऐनमा ढिलाइ भए ३०–५५ को व्यवस्था संकटमा पर्न सक्छ

करिब डेढ दशकदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया संसद्मा पुगे पनि यसको कार्यान्वयनको समय र स्वरूपबारे चासो कायमै छ।

संघीय निजामती सेवा विधेयक २०८३ असोज १५  मा प्रतिनिधिसभामा दर्ता भएको हो। विधेयकमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अवकाश दिने संक्रमणकालीन व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव छ।

तर यो व्यवस्था विधेयक पारित भएर ऐन बनेपछि मात्र कार्यान्वयनमा आउन सक्छ। संसद्को कार्यसूची, छलफल र विधेयक पारित हुने प्रक्रियामा ढिलाइ भए प्रस्तावित व्यवस्थाको कार्यान्वयन पनि पछाडि धकेलिन सक्छ।

विशेषगरी लामो समयदेखि सेवामा रहेका कर्मचारीको अवकाश, पेन्सन र वृत्ति विकाससँग जोडिएकाले यो प्रावधानप्रति कर्मचारी वृत्तमा चासो छ।  विधेयकमा प्रस्तावित ३०–५५ को व्यवस्था कहिले र कुन स्वरूपमा कार्यान्वयन हुन्छ भन्ने प्रश्न अब संसदीय प्रक्रियासँग जोडिएको छ।

५. ३०–५५ को अवकाशदेखि पेन्सनसम्म, निजामती विधेयकका ४५ नयाँ व्यवस्थामा गम्भीर बहस आवश्यक

संघीय निजामती सेवा विधेयकले कर्मचारी प्रशासनका धेरै पक्षमा परिवर्तन प्रस्ताव गरेपछि यसको व्यवस्थामाथि बहस आवश्यक देखिएको छ। विधेयकमा नियुक्ति, अवकाश, पेन्सन, बढुवा, सरुवा, वृत्ति विकास, सेवा सुरक्षा र प्रशासनिक नेतृत्व व्यवस्थापनलगायत विषय समेटिएका छन्। प्रस्तावित व्यवस्थाले कर्मचारीको सेवासर्त मात्र नभई संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्धलाई समेत प्रभाव पार्नेछ।

विधेयकमा १४८ दफा रहेको र करिब ४५ वटा नयाँ व्यवस्था समेटिएको  छ। ती व्यवस्थामा कर्मचारीको अवकाश उमेर, सेवा अवधि, पेन्सन गणना, सचिवको पदावधि, समावेशिता र कार्यसम्पादन मूल्यांकनजस्ता विषय छन्।

यसअघि लोक सेवा आयोगले अवकाश र पेन्सनसम्बन्धी केही प्रस्तावमा कानुनी तथा सेवासर्तसम्बन्धी प्रश्न उठाएको थियो। विज्ञहरूले विधेयकका प्रत्येक व्यवस्थालाई कर्मचारीको सेवा सुरक्षा, प्रशासनिक स्थायित्व, संघीयताको कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहसँग जोडेर अध्ययन गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

६. तीन अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल, भारत भ्रमणको उपलब्धिबारे पनि जानकारी

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन्। भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कामकारबाही र राष्ट्रपतिसमक्ष विचाराधीन अध्यादेशका विषयमा छलफल भएको  छ।सरकारले सिफारिस गरेका तीन अध्यादेश राष्ट्रपतिसमक्ष विचाराधीन छन्। तीमध्ये प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ, क्षतिपूर्ति तथा पुनर्स्थापना आयोग गठनसम्बन्धी अध्यादेश रहेका छन्।

भेटका क्रममा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराएको र अध्यादेश जारी गर्ने विषयमा सरकारको धारणा राखेको समाचारहरूमा जनाइएको छ।

अध्यादेश जारी गर्ने विषयमा सरकार र राष्ट्रपतिबीचको संवादले संवैधानिक प्रक्रिया, कार्यकारी निर्णय र संसदीय विधायिकी भूमिकाको बहसलाई पनि पुनः चर्चामा ल्याएको छ।

अब चासो तीनवटै अध्यादेशको संवैधानिक परीक्षण र राष्ट्रपतिबाट हुने निर्णयमा केन्द्रित छ।

७. ७८ करोड ७९ लाखको वैदेशिक सहायता कहाँ खर्च भयो ? महालेखाले माग्यो हिसाब

सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयकै वैदेशिक सहायता व्यवस्थापनमाथि प्रश्न उठेको छ। तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न विकास साझेदारबाट प्राप्त गरेको ५३ लाख ६० हजार अमेरिकी डलर अर्थात् करिब ७८ करोड ७९ लाख २० हजार रुपैयाँ बराबरको प्राविधिक तथा अन्य सहायताको वित्तीय विवरण तयार गरी लेखापरीक्षणका लागि पेस नगरेको विषय महालेखापरीक्षकको प्रतिवेदनमा औँल्याइएको छ।

युरोपियन युनियन, कोरियन सहयोग संस्था, यूएसएआईडी लगायत विकास साझेदारबाट प्राप्त भएको भनिएको उक्त सहायता कुन कार्यक्रमका लागि, कुन निकायमार्फत र कसरी खर्च भयो भन्ने विवरण सार्वजनिक चासोको विषय बनेको छ।

सहायता प्राप्त भएको रकमको वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा पेस नगर्नुको कारण के हो ? रकम खर्च भएको भए त्यसको विवरण कहाँ छ ? खर्च नभएको भए रकमको अवस्था के छ ?

यी प्रश्नको जवाफ मन्त्रालयले दिनुपर्छ। विशेषगरी मन्त्रालयको नेतृत्व गरिरहेकी मन्त्री प्रतिभा रावलले यस विषयमा मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्नु आवश्यक देखिन्छ।

७८ करोड ७९ लाख रुपैयाँको सहायता प्राप्त भएको विवरण हुनु तर त्यसको वित्तीय विवरण लेखापरीक्षणमा पेस नहुनु आफैँमा जवाफदेहिताको प्रश्न हो। 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार