ADVERTISEMENT

ऐनको धज्जी उडाउँदै लगातार हजारौ सरुवा,ऐनलाई काट्ने कसाही को ? मन्त्री , सचिव कि महानिर्देशक ?

सरुवा कार्यतालिका कुल्चिँदै मंसिरमै १५९ नापी अधिकृतको सरुवा, निजामती प्रशासनमा कानुनी शासनको धज्जी

  • मन्त्रालय र विभागको मनपरी, ऐनविपरीत निर्णय गर्ने पदाधिकारीलाई कारबाही गर्ने कानुनी व्यवस्था निष्क्रिय

काठमाडौं ।  कानुन बनाउने सरकार नै कानुनको पालना गर्नबाट विमुख हुन थालेपछि सुशासनको अपेक्षा कसरी गर्ने ? निजामती प्रशासनलाई व्यवस्थित, निष्पक्ष र अनुमानयोग्य बनाउन बनाइएको निजामती सेवा ऐन तथा नियमावलीलाई नै चुनौती दिँदै मन्त्रालय र विभागहरूले कर्मचारी सरुवालाई आफ्नो स्वेच्छाको विषय बनाउँदै लगेका छन्। निर्धारित सरुवा कार्यतालिका, कानुनी प्रक्रिया र प्रशासनिक मापदण्डलाई बेवास्ता गर्दै हुने यस्ता निर्णयले मुलुकको कर्मचारी प्रशासनमा विधिको शासनभन्दा पहुँच, आदेश र व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको देखाएको छ।

यसको पछिल्लो उदाहरण बनेको छ– नापी विभागले मंसिर महिनामा गरेको १५९ जना नापी अधिकृतको सरुवा। निजामती कर्मचारीको सरुवाका लागि कानुनले स्पष्ट समयतालिका तोकेको अवस्थामा विभागले निर्धारित समयभन्दा निकै पछि आएर ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ। यसले सरुवाको निर्णय कुन कानुनी आधारमा भयो, सामान्य प्रशासन मन्त्रालयको सहमति लिइएको थियो कि थिएन र सरुवाको मापदण्ड कसरी लागू गरियो भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

नापी विभागले २०८३ मंसिर ११ गते शुक्रबार १५९ जना नापी अधिकृतको परिमार्जित सरुवा सूची सार्वजनिक गरेको हो। तर यो सरुवा कुनै सामान्य प्रशासनिक निर्णय मात्र होइन। यसअघि विभागले असोज २३ गते १०३ जना नापी अधिकृत, ४९८ जना सर्वेक्षक र २५६ जना अमिन गरी कुल ८५७ कर्मचारीको सरुवा गरेको थियो। उक्त सरुवामा पहुँचका आधारमा आकर्षक कार्यालय रोज्ने अवसर दिइएको, दुर्गममा लामो समयदेखि कार्यरत कर्मचारीलाई उपेक्षा गरिएको र मापदण्ड उल्लंघन भएको भन्दै व्यापक गुनासो उठेको थियो।

त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट उक्त सरुवा एकमुष्ट बदर गरेकी थिइन्। सरुवा बदर भएपछि विभागले नयाँ मापदण्ड जारी गरी सेवा अवधि, भौगोलिक क्षेत्र, कार्यालयको कार्यबोझ, योग्यता र अनुभवलाई आधार मानेर पुनः सरुवा प्रक्रिया अघि बढाएको थियो। सोही प्रक्रियाअन्तर्गत १५९ नापी अधिकृतको नयाँ सूची सार्वजनिक भएको हो।

तर पुरानो सरुवा बदर गरेर नयाँ मापदण्ड बनाउँदैमा निर्धारित कार्यतालिकाभन्दा बाहिर गरिएको पछिल्लो सरुवा स्वतः वैधानिक हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ मन्त्रालय र विभागले दिनुपर्ने भएको छ। नयाँ मापदण्डको निर्माणले निजामती सेवा नियमावलीको व्यवस्था विस्थापित गर्न सक्दैन। विभागले मापदण्ड पालना गरेको छ कि छैन भन्ने एउटा प्रश्न हो भने नियमावलीले तोकेको समय र प्रक्रिया पालना भयो कि भएन भन्ने अर्को र अझ महत्त्वपूर्ण प्रश्न हो।

ऐन   नियमावलीमै छ सरुवाको स्पष्ट कार्यतालिका

निजामती कर्मचारीको सरुवालाई मनपरी हुन नदिन निजामती सेवा ऐन, २०४९ को दफा १८ र निजामती सेवा नियमावली, २०५० को नियम ३६ मा स्पष्ट व्यवस्था गरिएको छ।

नियमावलीको नियम ३६ को उपनियम (१) ले सरुवाका लागि तीनवटा समयसीमा निर्धारण गरेको छ। जसअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्ष भदौ १ गतेदेखि भदौ मसान्तसम्म कर्मचारीको सरुवा गर्नुपर्ने हुन्छ। मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय तथा विभागले असोज १ गतेदेखि असोज १५ गतेभित्र सरुवा गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, क्षेत्रीयस्तरका निकायले असोज १६ गतेदेखि असोज मसान्तसम्म सरुवा गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

यसको अर्थ सामान्य प्रशासन मन्त्रालयदेखि मन्त्रालय, विभाग र क्षेत्रीयस्तरका निकायसम्मले आफूखुसी जुनसुकै महिनामा सरुवा गर्ने छुट पाएका छैनन्। कर्मचारी प्रशासनलाई स्थिर, व्यवस्थित र निष्पक्ष बनाउन कानुनले नै सरुवाको समयसीमा निर्धारण गरेको हो।

तर नियमावलीले तोकेको समयबाहेक पनि सरुवा गर्नै नपाइने भन्ने होइन। कुनै कार्यालयमा पद रिक्त भएको अवस्थामा निर्धारित समयभन्दा बाहिर सरुवा गर्नुपर्ने भए सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर सरुवा गर्न सकिने अपवादात्मक व्यवस्था छ। यही व्यवस्थालाई आधार बनाएर गरिने सरुवामा पनि वास्तविक रिक्तता, आवश्यकता, सहमति र निर्णयको कारण पुष्टि हुनुपर्छ।

त्यसैले नापी विभागले मंसिरमा गरेको सरुवामा सामान्य प्रशासन मन्त्रालयको पूर्वसहमति थियो कि थिएन ? कुन पद रिक्त भएका कारण सरुवा गर्नुपरेको थियो ? ती पदमा सरुवा गर्नुपर्ने अपरिहार्य कारण के थियो ? सरुवाको निर्णय कुन मितिमा र कुन अधिकारीको तहबाट भयो ? यी प्रश्नको जवाफ सार्वजनिक हुनुपर्छ।

दफा १८ ले नै दिन्छ गलत सरुवा गर्ने पदाधिकारीलाई कारबाहीको बाटो

निजामती सेवा ऐनको दफा १८ सरुवा गर्ने अधिकार दिने प्रावधान मात्र होइन। यसले सरुवाको अवधि, अपवाद र कानुनविपरीत सरुवा गर्ने पदाधिकारीमाथि कारबाहीको व्यवस्था पनि गरेको छ।

दफा १८ को उपदफा (३) अनुसार सामान्यतया वर्षमा एकपटक तोकिएको कार्यतालिकाअनुसार सरुवा गर्नुपर्ने व्यवस्था छ। यसमा कर्मचारीले कुन भौगोलिक क्षेत्रमा कति अवधि काम गरेपछि अर्को क्षेत्रमा सरुवा हुन पाउने भन्ने आधारसमेत निर्धारण गरिएको छ।

त्यसैगरी दफा १८ को उपदफा (४) ले विशेष परिस्थितिमा निर्धारित अवधि पूरा नहुँदै सरुवा गर्न सकिने व्यवस्था गरेको छ। कर्मचारी अशक्त भएको, विशेष जिम्मेवारी दिनुपर्ने, विभागीय कारबाही गर्नुपर्ने, कार्यरत कार्यालयमा राखिराख्न उपयुक्त नभएको वा दरबन्दी कटौती भई कर्मचारी फाजिलमा परेको जस्ता अवस्थामा सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर सरुवा गर्न सकिन्छ।

तर यी अपवादलाई नियमित सरुवा गर्ने वैकल्पिक बाटो बनाउन मिल्दैन। सामान्य प्रशासन मन्त्रालयको सहमति र कानुनले तोकेका आधारबिना अपवादको नाममा जथाभावी सरुवा गर्न पाइँदैन।

सबैभन्दा महत्त्वपूर्ण कुरा त ऐनको दफा १८ को उपदफा (१२) हो। यसले यस दफाविपरीत सरुवा गर्ने पदाधिकारीलाई अख्तियारवालाले विभागीय कारबाही गर्ने र त्यस्तो सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्ने व्यवस्था गरेको छ। सामान्य प्रशासन मन्त्रालयले नै गरेको सरुवा भए मन्त्रिपरिषद्ले रद्द गर्न सक्ने व्यवस्था पनि छ।

यसको स्पष्ट अर्थ हो– कानुनविपरीत सरुवा गर्ने पदाधिकारी कारबाहीको दायराभन्दा बाहिर छैनन्। सरुवा गर्ने अधिकार प्राप्त छ भन्दैमा कानुन उल्लंघन गर्ने अधिकार कसैलाई प्राप्त हुँदैन।

ऐनलाई काट्ने कसाही को ? मन्त्री कि सचिव ?

अहिले कर्मचारी प्रशासनमा सबैभन्दा गम्भीर प्रश्न यही हो– कानुनविपरीत हुने निर्णयको जिम्मेवारी कसले लिने ?

कुनै मन्त्रीले आफ्नो इच्छाअनुसार कर्मचारी सरुवा गर्न दबाब दिए भने सचिवले कानुनी व्यवस्था देखाएर त्यस्तो निर्णय रोक्न सक्नुपर्छ। कुनै सचिवले नै गलत प्रस्ताव अघि बढाए भने सम्बन्धित निर्णय गर्ने अधिकारीले त्यसलाई कानुनी आधारमा परीक्षण गर्नुपर्छ। विभागीय प्रमुखले सरुवाको निर्णय गर्दा पनि प्रचलित ऐन, नियम र स्वीकृत मापदण्डको पालना गर्नुपर्छ।

राजनीतिक नेतृत्वको निर्देशन भन्दैमा कानुनविपरीतको निर्णयमा हस्ताक्षर गर्नुपर्ने बाध्यता कुनै कर्मचारीलाई छैन। मन्त्रीको मौखिक आदेश कानुनभन्दा माथि हुन सक्दैन। सचिव, सहसचिव वा महानिर्देशकको प्रशासनिक अधिकार पनि कानुनले दिएको सीमाभित्र मात्रै प्रयोग हुन सक्छ।

त्यसैले नापी विभागको पछिल्लो सरुवामा निर्णय गर्ने पदाधिकारी को हुन्, प्रस्ताव कसले तयार पारेको हो, मन्त्रालयको सहमति कसले दिएको हो र अन्तिम निर्णय कसले सदर गरेको हो भन्ने विवरण सार्वजनिक गरिनुपर्छ। निर्णयमा हस्ताक्षर गर्ने अधिकारी, निर्णयको सिफारिस गर्ने प्रशासनिक तह र आवश्यक सहमति दिने निकायको भूमिकासमेत छानबिनको विषय बन्नुपर्छ।

कानुनले सरुवा गर्ने अधिकारीलाई जिम्मेवारी दिएको छ भने कानुनविपरीत निर्णय गरेको अवस्थामा जवाफदेही बनाउने व्यवस्था पनि गरेको छ। त्यसैले सबै दोष राजनीतिक नेतृत्वमाथि थोपरेर सचिव र महानिर्देशक उम्कन मिल्दैन। त्यस्तै, सचिव र कर्मचारी प्रशासनका अधिकारीलाई मात्रै दोष दिएर मन्त्री र राजनीतिक नेतृत्वले पनि उन्मुक्ति पाउन सक्दैनन्।

सामान्य प्रशासन मन्त्रालय आफैँ सरुवा खेतीमा, अनुगमन कसले गर्ने ?

निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्ने, मन्त्रालय तथा विभागहरूलाई कानुनी दायरामा राख्ने र गलत सरुवाको अनुगमन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालय आफैँ विवादरहित रहन सकेको छैन।

विभिन्न मन्त्रालय तथा निकायबाट समयतालिका बाहिर सरुवाका लागि सहमति मागिने र कामकाज वा काजका नाममा कर्मचारीलाई लामो समयसम्म अन्यत्र खटाइने अभ्यासबारे विगतदेखि नै प्रश्न उठ्दै आएका छन्। यसअघि पनि सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर निर्धारित समयभन्दा बाहिर सरुवा गर्ने अभ्यास र त्यसको दुरुपयोगबारे सार्वजनिक समाचार आएका छन्।

 समयतालिका बाहिर हुने सरुवा, मन्त्रालयबाट लिइने सहमति र कामकाजका नाममा कर्मचारी खटाउने प्रवृत्तिबारे प्रश्न उठाएको थियो। यसको अर्थ यो समस्या कुनै एउटा विभागमा सीमित छैन, कर्मचारी प्रशासनको संरचनामै रहेको दीर्घकालीन समस्या हो।

तर सामान्य प्रशासन मन्त्रालयले सहमति दिँदैमा हरेक सरुवा स्वतः वैधानिक हुँदैन। सहमति दिनुको कारण, रिक्त पदको अवस्था, सरुवाको आवश्यकता र कानुनले तोकेका आधार स्पष्ट हुनुपर्छ। सहमति दिने अधिकारीले पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ। तर पछिल्लो समयमा मन्त्रालय र विभागले सरुवा गर्नुभन्दा पहिला सामान्य प्रशासन मन्त्रालयको सहमति लिन छोडेका छन् ।

प्रधानमन्त्री कार्यालयको भूमिका के ?

सरकारको प्रशासनिक नेतृत्व गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी प्रशासनमा देखिएका यस्ता बेथितिको अनुगमन गर्नुपर्ने हो। मन्त्रालय र विभागहरूले ऐन तथा नियमावली पालना गरे नगरेको हेर्ने, गैरकानुनी निर्णय रोक्ने र जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउने दायित्व सरकारकै हो।

तर मन्त्रालय र विभागहरूमा सरुवा विवाद दोहोरिइरहने, सरुवा बदर गर्नुपर्ने अवस्था आउने र पुनः त्यस्तै प्रश्न उठ्ने हो भने प्रधानमन्त्री कार्यालयको प्रशासनिक अनुगमन र नियन्त्रण प्रणालीमाथि पनि प्रश्न उठ्छ।

के कर्मचारी प्रशासनमा राजनीतिक नेतृत्वको आदेश नै अन्तिम कानुन हो ? के मन्त्रीले चाहेपछि ऐन र नियमावलीको समयतालिका परिवर्तन हुन्छ ? के सचिव र सहसचिवले कानुनी आधार नपुगेको निर्णयमा पनि हस्ताक्षर गर्नुपर्ने हो ? अनि ऐनविपरीत सरुवा गर्ने पदाधिकारीमाथि कारबाही गर्ने व्यवस्था कागजमै सीमित राख्ने हो ?

सरुवा गर्ने अधिकार प्राप्त अधिकारीलाई ऐनले दिएको अधिकारसँगै कानुनी दायित्व पनि छ। त्यो दायित्व पूरा नगरेको अवस्थामा कारबाहीको व्यवस्था कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी हो।

निजामती प्रशासनमा सुधारको कुरा भाषणमा मात्र होइन, निर्णय प्रक्रियामा देखिनुपर्छ। कानुन सबैका लागि बराबर हो भने मन्त्री, सचिव, सहसचिव र महानिर्देशक कसैले पनि त्यसलाई आफ्नो अनुकूल व्याख्या गर्न पाउँदैनन्।

नापी विभागको १५९ अधिकृतको पछिल्लो सरुवामा कानुनी अपवाद प्रयोग गरिएको हो भने त्यसको आधार र प्रमाण सार्वजनिक गरियोस्। प्रक्रिया मिचिएको हो भने निर्णयमा संलग्न पदाधिकारीको भूमिका छानबिन गरी कानुनअनुसार कारबाही गरियोस्।

अन्यथा, निजामती सेवा ऐन र नियमावली कर्मचारीलाई मात्र पालना गराउन बनाइएको हो, मन्त्री र सचिवलाई होइन भन्ने गलत सन्देश जानेछ। ऐनको शासन स्थापित गर्ने जिम्मेवारी बोकेकै निकायले ऐनको धज्जी उडाउने अवस्था कायम रहनु सुशासनको भद्दा रूपबाहेक अरू केही हुन सक्दैन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार