ADVERTISEMENT

समिति एक्सनमा :२८ वटा समस्याग्रस्त सहकारीको जग्गा लिलाम गरिदै , कुन कुन हुन् ? नामावली सहित

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका कारण बचत गुमाएका सर्वसाधारणको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउँदै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २८ वटा सहकारी संस्थाको नाममा रहेको जग्गा लिलाम बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ।

समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २८ वटा समस्याग्रस्त सहकारी संस्थाको नाममा दर्ता कायम रहेको जग्गा बिक्रीका लागि ३५ दिने म्यादसहित गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

सहकारीका ऋणी, सञ्चालक तथा जमानीकर्ताबाट असुल गर्नुपर्ने ऋण दायित्व लामो समयसम्म फरफारक नभएपछि संस्थाको नाममा रहेको अचल सम्पत्ति बिक्री गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

लिलाम बिक्री गर्न लागिएका २८ सहकारीमध्ये सबैभन्दा धेरै सिन्धुली जिल्लाका छन्। सिन्धुलीका मात्रै २० वटा सहकारीको जग्गा लिलाम गर्न लागिएको छ। त्यस्तै, गोरखाका तीन, सिन्धुपाल्चोकका दुई, चितवनका दुई र ललितपुरको एउटा सहकारीको जग्गा बिक्री प्रक्रियामा समेटिएको छ।

समितिले सार्वजनिक गरेको सूचनामा जग्गा रहेको स्थानीय तह तथा ठेगाना, जग्गाको क्षेत्रफल र न्यूनतम कबोल रकमसमेत उल्लेख गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

समितिका अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकहरूले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक गर्न पटक–पटक सूचना प्रकाशित गर्दा पनि दायित्व पूरा नगरेपछि संस्थाको नाममा रहेको जग्गा लिलाम बिक्री गर्न लागिएको हो।

सरकारले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मेवारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिएको छ। सोही प्रक्रियाअन्तर्गत सहकारीको चल तथा अचल सम्पत्ति बिक्री गरी प्राप्त रकमबाट कानुनी प्रक्रियाअनुसार बचतकर्ताको दायित्व भुक्तानी गर्ने व्यवस्था छ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौं रुपैयाँ जोखिममा परिरहेका बेला सम्पत्ति पहिचान, ऋण असुली र लिलाम बिक्रीको प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउनुपर्ने चुनौती सरकारसामु छ। जग्गा लिलामको प्रक्रिया सम्पन्न भएर रकम प्राप्त भएपछि त्यसलाई बचतकर्ताको रकम फिर्ता गर्ने कार्यमा उपयोग गर्नु समितिका लागि अर्को महत्त्वपूर्ण जिम्मेवारी हुनेछ।

यी हुन् जग्गा लिलाम हुन लागेका २८ समस्याग्रस्त सहकारी

समितिले सार्वजनिक गरेको सूचनाअनुसार लिलाम बिक्री प्रक्रियामा समेटिएका सहकारी संस्थाको नामावली, जग्गा रहेको स्थान, क्षेत्रफल र न्यूनतम कबोल रकम यसप्रकार छ :

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार