ADVERTISEMENT

नेपाल–भारत सम्बन्धमा नयाँ सहकार्यको मार्गचित्र, ८ क्षेत्रमा समझदारी

बालेन–मोदी भेटपछि संयुक्त विज्ञप्ति जारी, नेपाललाई २४ हजार करोडको विकास सहायता; ऊर्जा, व्यापार, रेलमार्ग र हवाई कनेक्टिभिटीमा महत्त्वपूर्ण सहमति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न भएसँगै नेपाल र भारतबीच द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा नयाँ समझदारीसहित संयुक्त विज्ञप्ति जारी भएको छ। विकास सहायता, ऊर्जा, पारवहन, पूर्वाधार, हवाई तथा रेल कनेक्टिभिटी, शिक्षा, प्रविधि र सीमा व्यवस्थापनलगायतका विषयलाई समेट्दै दुई देशले आपसी सम्बन्धलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा पुगेका प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी मोदीबीच भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई नयाँ आर्थिक तथा रणनीतिक आयाम दिने विषय समेटिएका छन्। प्रधानमन्त्रीको पदभार ग्रहणपछि शाहको यो पहिलो भारत भ्रमण हो।

दुवै प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अघि सार्दै आर्थिक विकास, ऊर्जा, जलस्रोत, व्यापार, पूर्वाधार, जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्।

भ्रमणको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उक्त सहायता घोषणा गरेका हुन्।

घोषित सहायतामध्ये पाँच हजार ६ सय करोड रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदानस्वरूप उपलब्ध हुनेछ। बाँकी १८ हजार चार सय करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनामा लगानीका लागि सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का रूपमा उपलब्ध गराइनेछ।

भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने प्रस्तावको पनि दुवै पक्षले स्वागत गरेका छन्। त्यस्तै, उच्च प्रभाव सामुदायिक विकास परियोजना तथा भारतको सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ।

हवाई मार्गदेखि समुद्री बन्दरगाहसम्म नेपालको पहुँच विस्तार

नेपालको अन्तर्राष्ट्रिय हवाई तथा पारवहन कनेक्टिभिटी विस्तारका दृष्टिले पनि भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनऊ ‘बी३४५’ हवाई मार्गलाई दुवैतर्फी बनाउने सहमति भएको छ। यसका प्राविधिक पक्ष टुङ्ग्याउन दुवै देशका अधिकारीबीच छिट्टै परामर्श हुनेछ।

त्यस्तै, नेपालको तेस्रो मुलुकसँगको व्यापार सहज बनाउन भारतले गुजरातस्थित काण्डलाको दीनदयाल बन्दरगाह प्रयोगका लागि नयाँ पारवहन मार्ग उपलब्ध गराउने घोषणा गरेको छ। आवश्यक पूर्वाधार तयार भएपछि उडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपालको पहुँच विस्तार गरिने भएको छ।

यसले नेपालको समुद्री बन्दरगाहसम्मको पहुँच विस्तार गर्दै वैदेशिक व्यापारको लागत र पारवहनका विकल्पमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

जनकपुर–अयोध्या रेल सेवा सुरु, रक्सौल–काठमाडौं रेलमार्गमा प्रगति

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरेका छन्।

रामायण सर्किटसँग जोडिएको यस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किटमा समेत यस्तै प्रकारको कनेक्टिभिटी विकास गर्ने सम्भावना खोज्ने सहमति गरेका छन्।

यसैगरी, लामो समयदेखि चर्चामा रहेको प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ। नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत भारतसँग सहकार्य गर्ने सहमति भएको छ।

सीमा पूर्वाधार र पेट्रोलियम पाइपलाइन विस्तारमा सहकार्य

सीमा क्षेत्रमा पूर्वाधार विस्तार तथा पेट्रोलियम आपूर्तिलाई सहज बनाउने विषयमा पनि महत्त्वपूर्ण सहमति भएको छ।

दुवै प्रधानमन्त्रीले वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल शिलान्यास गरेका छन्। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि सन्तोष व्यक्त गरिएको छ।

पश्चिम नेपाल र भारतबीचको सडक सम्पर्क थप सहज बनाउन धार्चुला र दार्चुला जोड्ने नयाँ मोटरेबल पुलको उद्घाटन गरिएको छ।

ऊर्जा तथा पेट्रोलियम पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ। झापामा पेट्रोलियम टर्मिनलको भर्चुअल शिलान्यास गर्दै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण कार्य छिट्टै सुरु गर्ने सहमति भएको छ। साथै, ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यका सम्भावना खोजिने भएको छ।

सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिको दुवै पक्षले प्रशंसा गरेका छन्। बाँकी रहेका सीमा सम्बन्धी विषयलाई समाधान गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई आवश्यक पहल गर्न निर्देशन दिइएको छ।

जलविद्युत् र प्रसारण लाइनमा नयाँ सहकार्य

ऊर्जा क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुङ्ग्याएर निर्माण प्रक्रिया अघि बढाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको छ।

अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधारतर्फ इनरुवा–न्यु पूर्णिया तथा दोधारा–बरेली उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि दुवै नेताले सन्तोष व्यक्त गरेका छन्।

यी सहमतिले नेपालको जलविद्युत् उत्पादन, अन्तरदेशीय विद्युत् व्यापार र ऊर्जा निर्यातका सम्भावनालाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

नेपालमा आईआईटी क्याम्पस, बैंकिङ र दूरसञ्चार सेवा सहज बनाइने

शिक्षा तथा प्रविधिको क्षेत्रमा पनि भारत र नेपालबीच नयाँ सहकार्यको ढोका खुलेको छ। भारतको सहयोगमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ।

यसले उच्च प्राविधिक शिक्षाको विस्तार, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपालमा बसोबास गर्ने भारतीय नागरिक र भारतमा बसोबास गर्ने नेपाली नागरिकलाई सम्बन्धित देशमा बैंकिङ तथा दूरसञ्चारलगायतका सेवामा सहज पहुँच उपलब्ध गराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

आठ विषयमा समझदारीपत्र आदानप्रदान

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा विभिन्न आठ विषयमा समझदारीपत्र आदानप्रदान भएका छन्। संयुक्त विज्ञप्तिले दुई देशबीच विगतदेखि कायम आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई थप संस्थागत गर्दै नयाँ क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने मार्गचित्र अघि सारेको छ।

घोषित सहायता, पूर्वाधार आयोजना र विभिन्न समझदारीको प्रभावकारी कार्यान्वयन अब दुवै देशका लागि महत्त्वपूर्ण हुनेछ। विशेषगरी विकास सहायता परिचालन, ऊर्जा आयोजना निर्माण, पारवहन सुविधा विस्तार तथा सीमासम्बन्धी बाँकी विषयको समाधानले नेपाल–भारत सम्बन्धको आगामी दिशा निर्धारण गर्ने देखिन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार