काठमाडौं । भारतले नेपालको पुनर्निर्माण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकसित र समृद्ध बनाउने यात्रामा भारत निरन्तर साझेदार बनेर रहने प्रतिबद्धतासहित उक्त सहयोग घोषणा गरेका हुन्।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको उच्चस्तरीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालसँगको सम्बन्धलाई छिमेकीको परम्परागत सम्बन्धभन्दा माथि उठेको अटुट विश्वास र पारस्परिक सहयोगको सम्बन्धका रूपमा चित्रण गरे।
मोदीले नेपाल र भारत एकअर्काको प्रगतिका साझेदार मात्र नभई कठिन परिस्थितिमा एकअर्काको सहारा पनि रहेको उल्लेख गरे। नेपालको विकास र समृद्धि भारतको पनि साझा चाहना भएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहको नेतृत्व र दृष्टिकोणको प्रशंसा गर्दै मोदीले संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधनबाटै उनको सोच र भविष्यको योजनाबारे आफू स्पष्ट भएको बताए।
‘विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनबाट नै उहाँको भिजन स्पष्ट रहेको मैले पाएको थिएँ,’ मोदीले भने।
जनकपुरको सन्दर्भदेखि धार्मिक सम्बन्धसम्म
मोदीले नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक तथा कूटनीतिक सीमामा मात्र सीमित नरहेको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धको चर्चा गरे।
सन् २०१८ मा नेपालको जनकपुर भ्रमणका क्रममा आफूले व्यक्त गरेको भनाइ स्मरण गर्दै उनले नेपाल र भारतबीचको धार्मिक सम्बन्धको गहिराइ प्रस्तुत गरे। ‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ,’ जनकपुर भ्रमणका क्रममा आफूले भनेको अभिव्यक्ति स्मरण गर्दै मोदीले उल्लेख गरे।
सीमा पूर्वाधार र सडक सञ्जाल विस्तारमा जोड
भारतले नेपालसँगको सीमा पूर्वाधार र सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकतामा राखेको पनि मोदीले बताए। उत्तराखण्ड र नेपालबीच धार्चुला तथा बनबासा क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढिरहेको उनको भनाइ थियो।
त्यसैगरी, दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको उनले जानकारी दिए। बिहार, उत्तर प्रदेशलगायत भारतका विभिन्न राज्यबाट नेपालसम्मको सडक सम्पर्क विस्तार गर्ने योजना पनि भारतले अघि बढाएको छ।
यी परियोजनाले दुई देशबीचको व्यापार, पारवहन, आवागमन र आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने मोदीको विश्वास छ।
पेट्रोलियम पूर्वाधारमा थप सहकार्य
नेपाल र भारतबीच ऊर्जा तथा पेट्रोलियम पूर्वाधारको सहकार्यलाई समेत विस्तार गरिने भएको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण विस्तार गर्ने योजना अघि बढाइएको छ।
त्यस्तै, झापामा पेट्रोलियम टर्मिनल निर्माण तथा बनबासा–दोधारा चाँदनी क्षेत्रमा एकीकृत चेकपोस्टसम्बन्धी पूर्वाधारको शिलान्यास गरिएको छ।
भारतको पछिल्लो घोषणाले नेपाल–भारत विकास साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। यद्यपि, घोषित सहयोगको प्रभावकारिता त्यसको कार्यान्वयन, परियोजनाको छनोट, समयमै निर्माण सम्पन्न गर्ने क्षमता र नेपाली पक्षको प्राथमिकतासँगको तालमेलमा निर्भर रहनेछ।




प्रतिक्रिया