ADVERTISEMENT

मलेसिया प्रकरणमा पूर्वमुख्य सचिव अर्याल पक्राउ परेको हल्ला बारे गृह मन्त्रालय भन्छ– ‘असत्य’

मलेसिया श्रमिक प्रकरणमा अर्याल पनि पक्राउ परेको चर्चा चलेपछि गृह मन्त्रालयको स्पष्टीकरण, ‘आईजीपीसँग बुझ्दा पक्राउ नपरेको जानकारी आयो’

काठमाडौं ।  पूर्वमुख्य सचिव तथा पूर्वगृहसचिव एकनारायण अर्याल पक्राउ परेको भन्दै सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको गृह मन्त्रालययका अधिकारीहरुले बताएका छन् ।  मलेसिया श्रमिक प्रकरणमा अनुसन्धानका क्रममा पूर्वमन्त्री तथा उच्च सरकारी अधिकारीहरू पक्राउ परेपछि तत्कालीन श्रम सचिवसमेत रहेका अर्याल पनि नियन्त्रणमा परेको चर्चा चलेको थियो। तर, गृह मन्त्रालयले उक्त खबर असत्य रहेको जनाएको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले प्रशासनपोस्टसँग कुरा गर्दै अर्याल पक्राउ परेको भन्ने खबर हल्लामात्र भएको बताए। उनका अनुसार यस विषयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सँगै जानकारी माग्दा अर्याल पक्राउ नपरेको जवाफ आएको थियो।

‘पूर्वमुख्य सचिव पक्राउ परेको भन्ने विषयमा हामीले आईजीपीसँग जानकारी मागेका थियौँ। उहाँले पक्राउ परेको होइन भन्नुभयो। त्यसैले पक्राउको हल्लामा कुनै सत्यता छैन,’ गृह मन्त्रालयका ती अधिकारीले प्रशासनपोस्टसँग भने।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रमसम्बन्धी सम्झौताविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी श्रमिकलाई मलेसिया पठाइएको आरोपमा अनुसन्धान अघि बढाइएको छ। सिआइबीले उक्त प्रकरणमा पुर्व दुई मन्त्री, सचिव र सहसचिवहरुलाई नियन्त्रणमा लिएको थियो ।

मलेसिया जाने नेपाली श्रमिकबाट विभिन्न शीर्षकमा रकम असुली गरिएको र त्यसबाट श्रमिकमाथि आर्थिक भार परेको विषयमा अनुसन्धान केन्द्रित रहेको सिआइबीको दावी छ ।  यही प्रकरणमा तत्कालीन श्रम सचिव रहेका अर्यालको नामसमेत जोडिएपछि उनी पक्राउ परेको हल्ला फैलिएको थियो।

यद्यपि, श्रम मन्त्रालयका केही अधिकारीले भने यस प्रकरणमा अनुसन्धान अघि बढाइएको आधार र तत्कालीन निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको श्रमसम्बन्धी सम्झौता तथा त्यसको कार्यान्वयनका क्रममा भएका निर्णयलाई अहिलेको अनुसन्धानले कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने विषय स्पष्ट हुन आवश्यक छ।

‘नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौताकै आधारमा विगतमा निर्णयहरू भएका हुन्। दुई सरकारबीचको सम्झौता कार्यान्वयन गर्ने क्रममा संलग्न अधिकारीहरूमाथि अहिले ठगीको आरोपमा अनुसन्धान अघि बढाइनुको आधार के हो भन्ने प्रश्न उठेको छ,’ श्रम मन्त्रालयका एक अधिकारीले भने।

ती अधिकारीले अनुसन्धानको निष्पक्षता र त्यसको आधारबारे समेत प्रश्न उठाउँदै कसैलाई दुःख दिने उद्देश्यले अनुसन्धान भइरहेको हो कि भन्ने आशंका व्यक्त गरे।

मलेसिया श्रमिक प्रकरणमा विगतमा भएका निर्णय, सम्झौताको कार्यान्वयन, त्यसबाट लाभ लिने पक्ष र जिम्मेवार अधिकारीहरूको भूमिकाबारे निष्पक्ष छानबिन हुनु आवश्यक देखिन्छ। तर, अनुसन्धानका नाममा कसैलाई पूर्वाग्रहपूर्ण ढङ्गले मुछ्ने वा निर्णय प्रक्रियामा संलग्न भएकै आधारमा दोषी ठहर गर्ने अवस्था आउनु हुँदैन।

अनुसन्धानले वास्तविक दोषी पहिचान गर्नुपर्ने र निर्दोष व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने गरी अपुष्ट समाचार तथा हल्ला फैलिन नदिन पनि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार