काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणको दोस्रो दिन आज (सोमबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुँदैछ। भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई आर्थिक, विकास, पूर्वाधार, ऊर्जा, प्रविधि र सुशासनलगायतका क्षेत्रमा थप विस्तार गर्ने विषयमा छलफल हुने कार्यक्रम छ।
निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन्।
बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ। त्यसलगत्तै दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र साझा विकासका एजेन्डामा छलफल हुने बताइएको छ।
दिउँसो १२ः३५ बजे दुई देशका प्रधानमन्त्रीले विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन गर्नुका साथै समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने कार्यक्रम छ। यसक्रममा बहुप्रतीक्षित अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिनेछ। त्यस्तै, प्रहरी एकेडेमी, एकीकृत जाँच चौकीलगायतका परियोजनाको उद्घाटन तथा अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने तयारी छ।
कार्यक्रमपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्नेछन्। दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। त्यसपछि दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।
१० क्षेत्रमा सहकार्यको समझदारी
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्तामा १० वटा प्रमुख क्षेत्रमा सहकार्य अघि बढाउने समझदारी हुने तयारी छ। प्राप्त भ्रमणसम्बन्धी दस्तावेजअनुसार आर्थिक विकासदेखि कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद र प्रविधिसम्मका विषयलाई द्विपक्षीय सहकार्यको प्राथमिकतामा राखिएको छ।
प्रस्तावित १० बुँदामा समेटिएका प्रमुख विषय यस्ता छन् :
१. आर्थिक तथा विकास साझेदारी : दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रोत्साहन गर्ने तथा विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क र सूचना प्रविधि पार्क निर्माणमा सहकार्य गर्ने। सीमावर्ती क्षेत्रमा निर्यातमुखी उद्योग र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने।
२. भौतिक तथा डिजिटल सम्पर्क विस्तार : अयोध्या–जनकपुर रेल सेवासहित सीमापार रेल तथा सडक सञ्जाल विस्तार गर्ने, एकीकृत जाँच चौकी निर्माणलाई तीव्रता दिने र रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन अघि बढाउने। धार्चुला–दार्चुला मोटरेबल पुललगायतका पूर्वाधारमा सहकार्य गर्ने।
३. ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता : पञ्चेश्वर र सप्तकोशी–सुनकोशी बहुउद्देश्यीय परियोजना अघि बढाउने, बाढी नियन्त्रण तथा पूर्वसूचना प्रणाली सुदृढ गर्ने र जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहकार्य गर्ने।
४. सुशासन तथा डिजिटल प्रशासन : डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, डिजिटल पहिचान, भुक्तानी प्रणाली र ई–गभर्नेन्समा भारतीय प्राविधिक सहयोग लिने। नेपाली निजामती कर्मचारीलाई भारतको राष्ट्रिय सुशासन केन्द्रमार्फत तालिम तथा क्षमता विकासको अवसर उपलब्ध गराउने।
५. प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तन : स्टार्टअप साझेदारी विस्तार, काठमाडौंमा स्टार्टअप उत्कृष्टता केन्द्र र पोखरामा डिजिटल नोम्याड तथा नवप्रवर्तन केन्द्र स्थापनामा सहकार्य गर्ने। कृत्रिम बुद्धिमत्ता (एआई), नेपाली भाषाको ठूलो भाषा मोडेल, उपग्रह विकास र अन्तरिक्ष अनुसन्धानमा साझेदारी गर्ने।
६. शिक्षा तथा सीप विकास : भारतका प्रतिष्ठित उच्च शैक्षिक संस्थाका शाखा नेपालमा स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्ने, छात्रवृत्ति विस्तार गर्ने तथा प्राविधिक र व्यावसायिक तालिममार्फत नेपाली युवाको सीप र क्षमता अभिवृद्धि गर्ने।
७. खेलकुद विकास : नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षक तथा प्रशिक्षण एकेडेमी स्थापना गर्न सहयोग गर्ने, क्रिकेट पूर्वाधार विस्तार गर्ने र नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर उपलब्ध गराउने। अन्य खेलकुदका पूर्वाधार र प्रशिक्षणमा समेत सहकार्य गर्ने।
८. संस्कृति तथा पर्यटन प्रवर्द्धन : जनकपुर–अयोध्या रामायण सर्किट, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर बौद्ध सर्किट र पशुपतिनाथ–वाराणसी शिव–शक्ति सर्किटको विकास गर्ने। सांस्कृतिक आदानप्रदान, पर्यटन र धार्मिक गन्तव्य प्रवर्द्धनमा सहकार्य गर्ने।
९. स्वास्थ्य सेवा विस्तार : नेपालमा स्वास्थ्य चौकी, प्रसूति केन्द्र र अस्पताल निर्माणमा सहयोग गर्ने, राष्ट्रिय चिकित्सा प्रयोगशालाको स्तरोन्नति तथा सस्तो र गुणस्तरीय औषधिको पहुँच विस्तारका लागि जनऔषधि केन्द्र स्थापना गर्ने। स्वास्थ्य अनुसन्धान र जनशक्ति तालिममा सहकार्य गर्ने।
१०. कृषि तथा पशुपालन : चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने, कृषि अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने तथा किसान, कृषि उद्यमी र सरकारी प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने।
यसरी प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको परम्परागत सम्बन्धलाई आर्थिक तथा विकास साझेदारीमा रूपान्तरण गर्ने अवसरका रूपमा हेरिएको छ। यद्यपि, भ्रमणका क्रममा तय हुने समझदारी र प्रतिबद्धता कार्यान्वयनमा कसरी अघि बढ्छन् भन्ने विषयले नै यसको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।




प्रतिक्रिया