काठमाडौ । महोत्तरीसहित मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । चार दिनसम्म मनाइने छठ पर्वलाई लक्षित गरी गाउँबस्ती, बजार तथा जलाशयहरूमा तयारी तीव्र पारिएको छ ।
छठ पर्व नजिकिएसँगै घरघरमा छठका भक्तिगीत गुन्जिन थालेका छन् भने नदी, पोखरी तथा जलाशयमा छठघाट निर्माण र सरसफाइको काम भइरहेको छ । युवा तथा स्थानीयवासी घाट सजावटमा सक्रिय छन् ।
पर्वका लागि आवश्यक केराका घरी, उखु, अदुवा, बेसार, ज्यामिर, बाँसका सामग्री र माटाका भाँडाकुँडाको बिक्री बढेको छ । यस्तै, घरघरमा ठकुवा, भुसुवालगायत परम्परागत प्रसाद बनाउने तयारी पनि भइरहेको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, एकता र आपसी सहयोगको सन्देश दिने गरेको छ ।




प्रतिक्रिया