ADVERTISEMENT

जलवायु सङ्कट नियन्त्रण गर्न विश्व नेताहरूलाई गुटेरेसको आग्रह

अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट नियन्त्रणका लागि हरितगृह ग्यास उत्सर्जन कटौती र स्वच्छ ऊर्जाको विस्तार तीव्र बनाउन विश्व नेताहरूलाई आग्रह गरेका छन् ।

 

टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन उच्च विन्दुमा पुगेको र जलवायु परिवर्तनको असर तीव्र बन्दै गएको बताए ।

 

गुटेरेसले जीवाश्म इन्धनमा निर्भरता घटाउँदै नवीकरणीय ऊर्जामा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले सन् २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमता तीन गुणाले वृद्धि गर्न र प्रदूषण नियन्त्रण नगरिएको कोइलामा आधारित विद्युत् उत्पादन ७५ प्रतिशतले घटाउनुपर्ने प्रस्ताव राखे ।

 

उनले जलवायु सङ्कटको असर सबैभन्दा बढी विकासशील तथा जोखिममा रहेका देशले भोगिरहेको उल्लेख गर्दै ती देशलाई पर्याप्त वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन विकसित राष्ट्रहरूलाई आग्रह गरे ।

 

गुटेरेसले सन् २०३५ सम्म विकसित देशहरूले वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउन नेतृत्व गर्नुपर्ने बताए ।

 

साथै, जलवायु परिवर्तनबाट प्रभावित समुदायको संरक्षण, पूर्वचेतावनी प्रणालीको विस्तार र हानि तथा क्षति सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

उनले जीवाश्म इन्धनबाट अत्यधिक नाफा कमाउने कम्पनीलाई जलवायु क्षतिको जिम्मेवारी लिन आग्रह गर्दै प्रदूषण गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्ने बताए ।

 

जलवायु वार्ताको सफलता सम्झौतामा मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै गुटेरेसले स्वच्छ अर्थतन्त्र र न्यायपूर्ण समाज निर्माणका लागि सबै देश एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार