काठमाडौं । तिहार मनाउन घर जाने यात्रुको उत्साह र उमङ्गलाई पृथ्वी राजमार्गको घोप्टेभीरमा खसेको पहिरोले फेरि निराशामा बदलिदिएको छ । मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा पुनः सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण तिहार मनाउन घर हिँडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ बजेतिर पुनः पहिरो खसेको हो । पहिरोले सडक अवरुद्ध भएपछि उक्त खण्डमा सवारीसाधनको लामो जाम लागेको छ । घर पुगेर परिवारसँग तिहार मनाउने आशामा यात्रामा निस्किएका सर्वसाधारण अहिले समयमै गन्तव्यमा पुग्न नसकिने चिन्ताले छटपटाइरहेका छन् ।
पहिरो पन्छाउन सरकारी सुस्ती, यात्रुमा आक्रोश
पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको भए पनि सरकारी निकायको सक्रियता र कामको गति निकै सुस्त देखिएको यात्रुहरूको गुनासो छ । चाडपर्वको समयमा यात्रुको चाप अत्यधिक हुने जानकारी हुँदाहुँदै पनि सडक अवरोध हटाउन प्रभावकारी तयारी र तीव्र परिचालन हुन नसकेको भन्दै यात्रुहरू असन्तुष्ट देखिएका छन् ।
प्रहरीले सडक खुलाउन प्रयास भइरहेको जनाएको छ । तर, सडक पूर्ण रूपमा बन्द हुँदा यात्रुहरू लामो समयदेखि जाममा बस्न बाध्य भएका छन् ।
हिजो नौ घण्टापछि खुलेको सडकमा फेरि पहिरो
घोप्टेभीरमा यसअघि पनि हिजो पहिरो खसेको थियो । उक्त पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब नौ घण्टा लागेको थियो । लामो समयको प्रयासपछि खुलेको सडकमा फेरि पहिरो खसेपछि यात्रुको यात्रा थप कष्टकर बनेको छ ।
चाडपर्वमा घर जाने यात्रुको सहजता सुनिश्चित गर्नुपर्ने बेला पटकपटक सडक अवरुद्ध हुनु र पहिरो पन्छाउने काममा ढिलाइ हुनु राज्यको सडक व्यवस्थापन तथा विपद् प्रतिकार्य क्षमतामाथि नै प्रश्न बनेको छ ।
तिहारको उल्लासमा घर फर्किरहेका नागरिकका लागि घोप्टेभीर अहिले यात्राको अवरोध मात्रै होइन, सरकारी व्यवस्थापनको सुस्तताको अर्को उदाहरण बनेको छ ।




प्रतिक्रिया