ADVERTISEMENT

तिहारको रौनक जारी, आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा

काठमाडौँ । तिहारको उल्लास र रौनक जारी रहँदा आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन गोवर्द्धन, बली, गोरु तथा हलिको पूजा गरी मनाइँदैछ। प्रकृति, कृषि र श्रमप्रति सम्मान प्रकट गर्ने विशेष सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको यस दिनमा घरघरमा पूजाआजा गरी मीठा परिकार खाने र खुवाउने परम्परा छ।

गोवर्द्धन पूजाका अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाइन्छ र त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वतलाई आफ्नो हत्केलाले उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको धार्मिक मान्यताका आधारमा यो पूजा गर्ने परम्परा चल्दै आएको धर्मशास्त्रविद्हरू बताउँछन्।

धार्मिक विधिअनुसार कार्तिक शुक्ल प्रतिपदामा सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने मान्यता छ। यस दिन प्रकृतिको संरक्षण, पशुधनको महत्त्व र मानव जीवनसँगको सम्बन्धलाई समेत स्मरण गरिन्छ।

बली राजाको पूजा र देउसीको धार्मिक सम्बन्ध

आज बली राजाको पूजा गर्ने परम्परा पनि उत्तिकै महत्त्वपूर्ण छ। भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार प्रतिपदाका दिन बली राजाको पूजा आराधना गरिन्छ।

यही धार्मिक मान्यतासँग देउसी खेल्ने परम्पराको सम्बन्ध रहेको छ। देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने चलन आज पनि प्रचलित छ।

गोरु र हलिको पूजा, कृषि श्रमप्रति सम्मान

आज वर्षभरि खेतबारी जोतेर कृषि उत्पादनमा सहयोग गर्ने गोरुको पूजा गरी मीठा परिकार खान दिने परम्परा छ। कृषि कार्यमा गोरुको योगदानलाई सम्मान गर्दै गरिने यस पूजामा गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने चलन रहेको छ।

त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। कृषि श्रम र किसानको योगदानप्रति सम्मान प्रकट गरिने भएकाले यस दिनलाई हलि तिहारका रूपमा समेत चिनिन्छ।

गोवर्द्धन, बली, गोरु र हलिको पूजाले तिहारलाई धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, कृषि संस्कृति तथा श्रमको महत्त्वसँग जोड्दै आएको छ। नेपाली समाजमा पुस्तौँदेखि प्रचलित यी परम्पराले तिहारको सांस्कृतिक विशिष्टता र मौलिकतालाई जीवन्त बनाउँदै आएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार