काठमाडौं । तिहारको उल्लास र चहलपहलबीच आज नेपाल संवत् ११४७ सुरु भएको छ । नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाउँदै छन् । नयाँ वर्षका अवसरमा आज नेवार समुदायमा म्हः पूजा अर्थात् आत्मपूजा पनि गरिँदैछ ।
नेपाल संवत् नेपालको मौलिक संवत् हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै मौलिक संवत् सञ्चालनमा योगदान पुर्याएको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको इतिहास छ । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको उल्लेख छ । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
नेपाल संवत्को नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष उत्साहका साथ मनाइन्छ । काठमाडौंमा कार्तिक कृष्ण औँसीमा पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदामा नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि छ ।

नयाँ वर्षका अवसरमा गरिने म्हः पूजालाई आफ्नो आत्माको पूजा गर्ने विशेष परम्पराका रूपमा लिइन्छ । धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा महत्त्वपूर्ण भएकाले यसको पूजा गर्ने परम्परा रहेको हो । आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास छ ।
यस वर्ष प्रतिपदा तिथि सोमबार र मंगलबार दुई दिन परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ । केही स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका कतिपय समूहले आज म्हः पूजा गर्दैछन् ।




प्रतिक्रिया