ADVERTISEMENT

बुढानीलकण्ठवासीलाई स्वास्थ्य उपचारमा ५० प्रतिशतसम्म छुट, नगरपालिकाले जुटायो अस्पतालसँग सहकार्य

ओपीडीदेखि शल्यक्रिया र सघन उपचारसम्म सहुलियत, नगरवासीलाई स्वास्थ्य सेवामा राहत

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग स्वास्थ्य सेवा सहकार्य गरेको छ। नगरपालिकाको उक्त पहलले स्वास्थ्य उपचार महँगो हुँदै गएको अवस्थामा नगरवासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिका र अस्पतालबीच भएको सहमतिअनुसार नगरवासीले विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। सहकार्यले उपचार खर्च कम गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने नगरपालिकाको विश्वास छ।

सहमतिअनुसार अस्पतालले जनरल ओपीडी तथा जनरल बेडमा ५० प्रतिशत, प्याथोलोजी तथा प्रसूति सेवामा २० प्रतिशत र शल्यक्रिया तथा सघन उपचार सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्नेछ।

यो सहुलियत बुढानीलकण्ठ नगरपालिकाका नगरवासी, नगरपालिकामा कार्यरत कर्मचारी तथा नगरपालिकाभित्रका स्वास्थ्य चौकी र नगर अस्पतालबाट सिफारिस भई आउने बिरामीहरूले प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य उपचारमा नागरिकको खर्च कम गर्ने र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले गरिएको यो सहकार्य नगरपालिकाको जनमुखी सेवा प्रवाहको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

नगरपालिकाले स्वास्थ्य सेवामा सहकार्यका लागि हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठलगायत अस्पतालको सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरेको छ।

नगरपालिकाको यस पहलबाट विशेषगरी नियमित स्वास्थ्य परीक्षण, सामान्य उपचारदेखि जटिल उपचारसम्मका सेवामा नगरवासीलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार