ADVERTISEMENT

नागढुंगा सुरुङमार्गमा टोल तिर्नै सास्ती, घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौँ । छिटो र सहज यात्राको अपेक्षासहित सञ्चालनमा ल्याइएको नागढुंगा सुरुङमार्गमा टोल शुल्क तिर्न यात्रु तथा सवारी चालकले सास्ती भोग्नुपरेको छ। स्वचालित टोल भुक्तानी प्रणाली सञ्चालनमा नआउँदा टोल प्लाजामा घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो।

यही सातादेखि टोल शुल्क संकलन सुरु भए पनि बैंकमार्फत वितरण गरिने एन–ट्याग कार्ड प्रयोगमा आउन सकेको छैन। सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या देखिएपछि एन–ट्याग वितरण प्रक्रिया रोकिएको हो।

दैनिक करिब ७ हजार ५०० सवारीसाधन आवतजावत गर्ने सुरुङमार्गमा एन–ट्याग प्रणाली सञ्चालनका लागि आठ वटा बैंकलाई जिम्मेवारी दिइएको थियो। तर, प्रणाली सञ्चालनमा नआउँदा हाल नगद र क्यूआर कोडमार्फत मात्र टोल शुल्क संकलन भइरहेको छ।

विशेषगरी व्यस्त समयमा टोल प्लाजामा सवारीसाधनको लामो लाइन लाग्ने गरेको छ। सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य यात्रा छिटो र सहज बनाउनु भए पनि टोल शुल्क तिर्नै लामो समय कुर्नुपर्ने भएपछि यात्रु तथा चालकले असन्तुष्टि जनाएका छन्।

स्वचालित भुक्तानी प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सवारी चालकले टोल प्लाजामा लाइन बस्नुपर्ने बाध्यता कायमै रहने देखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार