१. विषय प्रवेश
नेपालको संविधान, २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ। संघीय शासन प्रणालीको सफल कार्यान्वयनका लागि राजनीतिक अधिकारको बाँडफाँट मात्र पर्याप्त हुँदैन; त्यसका लागि प्रत्येक तहमा सक्षम, दक्ष, निष्पक्ष, उत्तरदायी र सेवामुखी प्रशासनिक संयन्त्रको विकास हुनु आवश्यक हुन्छ। यही आवश्यकतालाई सम्बोधन गर्न प्रशासनिक संघीयताको महत्त्वपूर्ण आधारका रूपमा प्रदेश लोक सेवा आयोगहरूको व्यवस्था गरिएको हो।
प्रशासनिक संघीयता भन्नाले संविधान र कानुनले निर्धारण गरेका अधिकार, जिम्मेवारी तथा कार्यहरू संघ, प्रदेश र स्थानीय तहबाट प्रभावकारी रूपमा सम्पादन गर्न आवश्यक कर्मचारी, संगठन, स्रोतसाधन र प्रशासनिक क्षमताको विकास तथा परिचालन गर्ने व्यवस्था बुझिन्छ। यसले संघीयताको राजनीतिक संरचनालाई व्यवहारमा उतार्दै नागरिकसम्म सार्वजनिक सेवा पुर्याउन सहयोग गर्छ।
प्रदेश लोक सेवा आयोगहरू प्रदेश तथा स्थानीय तहका सार्वजनिक सेवामा योग्य जनशक्ति छनोट गर्ने संवैधानिक निकाय हुन्। यी आयोगले प्रतिस्पर्धात्मक परीक्षा, निष्पक्ष छनोट, योग्यता प्रणाली, समावेशिता र संस्थागत विश्वसनीयतामार्फत प्रशासनिक संघीयतालाई संस्थागत गर्न योगदान पुर्याउँछन्। कर्मचारी पदपूर्तिमा राजनीतिक प्रभाव, नातावाद, कृपावाद र पक्षपातको सम्भावना अन्त्य गरी योग्यताका आधारमा कर्मचारी छनोट गर्नु यिनको मूल उद्देश्य हो। नेपालको संविधानको धारा २४४ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ यसका प्रमुख संवैधानिक तथा कानुनी आधार हुन्।
२. प्रदेश लोक सेवा आयोगसम्बन्धी कानुनी व्यवस्था
प्रदेश लोक सेवा आयोगको प्रभावकारी सञ्चालनका लागि संविधान, संघीय कानुन र प्रदेश कानुनबीच समन्वय आवश्यक हुन्छ।
२.१ नेपालको संविधान, २०७२
संविधानको धारा २४४ ले प्रदेश लोक सेवा आयोगको व्यवस्था गरेको छ। यसका अतिरिक्त मौलिक हक, समानता, समावेशिता, संघीय शासन प्रणाली तथा प्रदेश र स्थानीय तहसम्बन्धी अन्य संवैधानिक व्यवस्थाले पनि आयोगको कार्यसम्पादनलाई मार्गदर्शन गर्छन्।
२.२ प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५
यो संघीय ऐन प्रदेश लोक सेवा आयोगहरूको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार तथा मापदण्ड निर्धारण गर्न बनेको हो। यसले प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, अन्य प्रदेश सरकारी सेवा, प्रदेशका सङ्गठित संस्था, स्थानीय सरकारी सेवा र स्थानीय तहका सङ्गठित संस्थाका पदमा योग्य उम्मेदवार छनोट गर्ने व्यवस्थालाई समेट्छ।
यस ऐनले योग्यता प्रणाली प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने लक्ष्य राखेको छ। दफा ११ मा छनोट प्रक्रियामा स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्नुपर्ने तथा संघीय लोक सेवा आयोगका सिद्धान्त र मापदण्ड अवलम्बन गर्नुपर्ने व्यवस्था
२.३ प्रदेश लोक सेवा आयोग ऐन/नियमावली
प्रत्येक प्रदेशले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी कानुन निर्माण गरेको छ।
उदाहरणका लागि, गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार आयोग गठन भई २०७७ चैत ११ गतेदेखि कार्य प्रारम्भ गरेको हो। अन्य प्रदेशमा पनि सम्बन्धित प्रदेशको कानुनअनुसार आयोगको व्यवस्था गरिएको छ।
२.४ प्रदेश निजामती सेवा तथा स्थानीय सेवा कानुन
प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन, नियमावली र अन्य सम्बन्धित कानुनले कर्मचारीको सेवा, समूह, तह, दरबन्दी, योग्यता, बढुवा, समावेशी व्यवस्था र पदपूर्तिसम्बन्धी विषयलाई निर्देशित गर्छन्।
३. नेपालको संविधानको धारा २४४ र यसको संवैधानिक महत्त्व
नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४४ मा प्रदेश लोक सेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ। उक्त धारामा तीनवटा मुख्य प्रावधान छन्।
उपधारा (१): प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहनेछ।
उपधारा (२): प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुनेछ।
उपधारा (३): उपधारा (२) को प्रयोजनका लागि संघीय संसदले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ।
यस संवैधानिक व्यवस्थाले प्रदेश लोक सेवा आयोगलाई संस्थागत अस्तित्व प्रदान गर्नुका साथै संघीय र प्रादेशिक कानुनी व्यवस्थाबीच समन्वयको आधार निर्माण गरेको छ।
धारा २४४ को महत्त्वलाई निम्न बुँदामा स्पष्ट गर्न सकिन्छ।
- संवैधानिक सुनिश्चितता: प्रत्येक प्रदेशमा लोक सेवा आयोग रहने व्यवस्था संविधानमै सुनिश्चित गरिएको छ।
- प्रादेशिक स्वायत्तता: प्रदेशले आफ्नो आवश्यकताअनुसार आयोगको गठन, कार्यक्षेत्र र कार्यविधिसम्बन्धी कानुनी व्यवस्था गर्न सक्छ।
- राष्ट्रिय आधार र मापदण्ड: संघीय संसदले निर्धारण गरेका आधार तथा मापदण्डले आयोगहरूको काममा न्यूनतम एकरूपता कायम गर्न सहयोग गर्छ।
- योग्यतामा आधारित प्रशासन: प्रतिस्पर्धा र निष्पक्ष छनोटमार्फत सक्षम जनशक्ति प्राप्त गर्ने आधार तयार हुन्छ।
- स्थानीय आवश्यकताको सम्बोधन: प्रदेशभित्रका भौगोलिक, भाषिक, सामाजिक, आर्थिक तथा विकाससम्बन्धी आवश्यकताअनुसार जनशक्ति छनोट गर्न सकिन्छ।
४. प्रदेश लोक सेवा आयोगका प्रमुख उद्देश्य
प्रदेश लोक सेवा आयोगहरूको स्थापना केवल उम्मेदवार छनोट गर्नका लागि भएको होइन। यसको व्यापक उद्देश्य प्रदेश तथा स्थानीय तहको प्रशासनलाई व्यावसायिक, सक्षम, उत्तरदायी र नागरिकमैत्री बनाउनु हो।
मुख्य उद्देश्यहरू यसप्रकार छन्:
- प्रदेश तथा स्थानीय सेवाका रिक्त पदमा योग्य र सक्षम उम्मेदवार छनोट गर्नु।
- कर्मचारी छनोटमा राजनीतिक प्रभाव, नातावाद, कृपावाद र पक्षपातको सम्भावना अन्त्य गर्नु ।
- योग्यता, प्रतिस्पर्धा र समान अवसरमा आधारित कर्मचारीतन्त्र निर्माण गर्नु।
- प्रदेश तथा स्थानीय तहको प्रशासनिक क्षमता अभिवृद्धि गर्नु।
- समावेशी सिद्धान्तअनुसार सबै योग्य नागरिकलाई सार्वजनिक सेवामा प्रवेशको अवसर प्रदान गर्नु।
- कर्मचारी पदपूर्तिमा पारदर्शिता, विश्वसनीयता र जवाफदेहिता कायम गर्नु।
- प्रदेश तथा स्थानीय तहका नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति विकास गर्नु।
- सार्वजनिक प्रशासनलाई राजनीतिक नेतृत्वप्रति उत्तरदायी हुनुका साथै कानुन, संविधान र नागरिकप्रति जिम्मेवार बनाउनु।
५. प्रदेश लोक सेवा आयोगका आधारभूत सिद्धान्त
प्रदेश लोक सेवा आयोगको विश्वसनीयता यसको कार्यमा अवलम्बन गरिने सिद्धान्तमा निर्भर हुन्छ। प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ को दफा ११ ले उम्मेदवार छनोटमा स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि संघीय लोक सेवा आयोगले अवलम्बन गरेका सिद्धान्त तथा मापदण्ड अपनाउनुपर्ने व्यवस्था गरेको छ।
५.१ योग्यता प्रणालीको सिद्धान्त
कर्मचारी छनोट उम्मेदवारको ज्ञान, सीप, क्षमता, योग्यता र प्रतिस्पर्धात्मक उपलब्धिका आधारमा हुनुपर्छ। व्यक्तिगत सम्बन्ध, राजनीतिक निकटता वा आर्थिक प्रभावका आधारमा नियुक्ति हुनु हुँदैन।
योग्यता प्रणालीले सार्वजनिक प्रशासनमा दक्ष जनशक्ति भित्र्याउने र कर्मचारीतन्त्रलाई व्यावसायिक बनाउने काम गर्छ।
५.२ निष्पक्षताको सिद्धान्त
आयोङ्गले कुनै उम्मेदवारप्रति पूर्वाग्रह राख्नु हुँदैन। सबै उम्मेदवारलाई समान र न्यायोचित व्यवहार गरिनुपर्छ।
५.३ स्वच्छता र विश्वसनीयताको सिद्धान्त
आयोगको कार्य प्रक्रिया माथि नागरिक र उम्मेदवारको विश्वास कायम हुनु आयोगको महत्त्वपूर्ण दायित्व हो।
५.४ समान अवसरको सिद्धान्त
योग्यता पुगेका सबै नागरिकलाई सार्वजनिक सेवामा प्रतिस्पर्धा गर्ने उचित अवसर उपलब्ध गराइनुपर्छ। लिङ्ग, जातजाति, भाषा, भूगोल, आर्थिक अवस्था वा अन्य व्यक्तिगत पृष्ठभूमिका कारण अनुचित विभेद हुनु हुँदैन।
५.५ समावेशिताको सिद्धान्त
संविधान र प्रचलित कानुनअनुसार आरक्षण तथा समावेशी व्यवस्थाको कार्यान्वयन गरिनुपर्छ। यसले ऐतिहासिक रूपमा पछाडि पारिएका समूहको प्रतिनिधित्व बढाउन र राज्यका निकायलाई सामाजिक विविधतासँग जोड्न मद्दत गर्छ।
५.६ पारदर्शिताको सिद्धान्त
आयोगको कार्य प्रक्रिया व्यवस्था स्पष्ट तथा सार्वजनिक हुनुपर्छ। गोप्य राख्नुपर्ने विषय बाहेक अन्य प्रक्रियामा पारदर्शिता अपनाउनुपर्छ।
५.७ स्वतन्त्रता र स्वायत्तताको सिद्धान्त
आयोगले कानुनबमोजिम आफ्नो जिम्मेवारी निर्वाह गर्दा अनुचित राजनीतिक, प्रशासनिक वा व्यक्तिगत दबाबबाट मुक्त रहनुपर्छ। नियुक्ति, बजेट, कर्मचारी व्यवस्थापन र संस्थागत निर्णयमा आवश्यक स्वायत्तता हुनु यसको प्रभावकारी कार्यसम्पादनको आधार हो।
५.८ उत्तरदायित्वको सिद्धान्त
स्वतन्त्रता भनेको जवाफदेहिताबाट मुक्त हुनु होइन। आयोगले आफ्नो कार्यसम्पादन, बजेटको उपयोग, नतिजा र निर्णयको औचित्य प्रचलित कानुनअनुसार सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्नुपर्छ।
५.९ दक्षता र मितव्ययिताको सिद्धान्त
कम समय, उचित लागत र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गरी गुणस्तरीय नतिजा प्राप्त गर्नुपर्छ। प्रविधिको प्रयोग, परीक्षा व्यवस्थापन र कार्यप्रक्रियाको सरलीकरण यसका माध्यम हुन्।
५.१० नैतिकता र व्यावसायिकताको सिद्धान्त
आयोगका पदाधिकारी, कर्मचारी, विज्ञ र परीक्षकले गोपनीयता, इमानदारी, निष्पक्षता तथा व्यावसायिक आचरण कायम गर्नुपर्छ। यसले संस्थाको दीर्घकालीन प्रतिष्ठा निर्माण गर्छ।
६. प्रशासनिक संघीयता कार्यान्वयनमा प्रदेश लोक सेवा आयोगहरूको भूमिका
प्रदेश लोक सेवा आयोगहरूको भूमिका प्रशासनिक संघीयताको आधारभूत संरचना निर्माणदेखि कर्मचारी व्यवस्थापनको गुणस्तर सुधार गर्नेसम्म फैलिएको छ।
६.१ योग्य जनशक्ति छनोट र पदपूर्ति
संघीय शासन व्यवस्थामा प्रदेश तथा स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास, राजस्व प्रशासन र स्थानीय सेवा प्रवाहका विविध जिम्मेवारी निर्वाह गर्नुपर्छ। यी जिम्मेवारी पूरा गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनु महत्त्वपूर्ण हुन्छ।
प्रदेश लोक सेवा आयोगले स्वीकृत दरबन्दी र प्राप्त मागका आधारमा विज्ञापन, परीक्षा, मूल्याङ्कन तथा सिफारिससम्बन्धी काम गर्छ। योग्य कर्मचारीको उपलब्धताले प्रशासनिक रिक्तता घटाउन र सेवा प्रवाह नियमित बनाउन सहयोग पुर्याउँछ।
६.२ प्रदेश तथा स्थानीय तहको संस्थागत क्षमता विकास
स्थानीय तह संघीय शासन प्रणालीमा नागरिकसँग सबैभन्दा नजिकको सरकार हो। तर आवश्यक प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय जनशक्ति नहुँदा सेवा प्रवाह प्रभावित हुन सक्छ।
प्रदेश लोक सेवा आयोगले कानुनले तोकेको कार्यक्षेत्रभित्र रहेर स्थानीय तहका पदमा योग्य कर्मचारी छनोट गर्दा स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि हुन्छ। यसबाट जन्मदर्ता, सामाजिक सुरक्षा, स्थानीय योजना, कृषि सेवा, स्वास्थ्य सेवा र पूर्वाधार व्यवस्थापनजस्ता काम प्रभावकारी बनाउन सहयोग पुग्छ।
६.३ राजनीतिक हस्तक्षेपको अन्त्य
लोकतान्त्रिक व्यवस्थामा राजनीतिक नेतृत्वले नीति, कार्यक्रम र प्राथमिकता निर्धारण गर्छ। तर कर्मचारी छनोटमा अनुचित राजनीतिक प्रभाव पर्नु प्रशासनिक निष्पक्षताका लागि चुनौती हो।
स्वतन्त्र र निष्पक्ष परीक्षा प्रणालीले कर्मचारी छनोटलाई व्यक्तिगत वा राजनीतिक पहुँचभन्दा प्रतिस्पर्धात्मक योग्यतामा आधारित बनाउँछ।
६.४ प्रशासनको व्यावसायिकीकरण
आधुनिक सार्वजनिक प्रशासनमा सामान्य शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त हुँदैन। समस्या समाधान गर्ने क्षमता, कानुनी ज्ञान, प्रविधिको प्रयोग, निर्णय क्षमता, नैतिकता र नागरिकसँग व्यवहार गर्ने सीप पनि आवश्यक हुन्छ।
पदअनुसार उपयुक्त पाठ्यक्रम, वस्तुगत तथा विषयगत परीक्षा, प्रयोगात्मक मूल्याङ्कन र आवश्यकताअनुसार अन्तर्वार्ताको व्यवस्था गर्दा दक्ष कर्मचारी छनोट गर्न सकिन्छ। यसले प्रशासनलाई प्रक्रियामुखीबाट परिणाममुखी बनाउन मद्दत गर्छ।
६.५ समावेशी प्रशासनको निर्माण
नेपालको सामाजिक, भाषिक, भौगोलिक र सांस्कृतिक विविधतालाई सार्वजनिक प्रशासनमा प्रतिबिम्बित गराउनु संघीयताको महत्त्वपूर्ण पक्ष हो।
प्रदेश लोक सेवा आयोगहरूले प्रचलित कानुनअनुसार समावेशी तथा आरक्षणसम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्दा विभिन्न समुदायको प्रतिनिधित्व बढाउन सहयोग पुग्छ। यसबाट प्रशासनप्रति नागरिकको अपनत्व र विश्वास अभिवृद्धि हुन सक्छ।
६.६ प्रदेशको आवश्यकता र विशेषताअनुसार जनशक्ति छनोट
सबै प्रदेशको भौगोलिक अवस्था, आर्थिक संरचना, विकासका प्राथमिकता र सेवा प्रवाहका आवश्यकता समान छैनन्।
उदाहरणका लागि, हिमाली तथा पहाडी भूभागमा कार्यरत निकायलाई दुर्गम क्षेत्रमा सेवा दिन सक्ने प्राविधिक र प्रशासनिक जनशक्ति आवश्यक पर्न सक्छ। कृषि तथा पर्यटनको सम्भावना भएका क्षेत्रमा सम्बन्धित विषयका दक्ष कर्मचारीको माग बढी हुन सक्छ।
प्रदेशको कानुन, स्वीकृत पाठ्यक्रम र पदको प्रकृतिभित्र रही उपयुक्त जनशक्ति छनोट गर्नु प्रशासनिक संघीयताको स्थानीय आवश्यकतासँगको सम्बन्ध हो।
६.७ कर्मचारी छनोटमा एकरूपता र न्यूनतम राष्ट्रिय मापदण्ड
प्रत्येक प्रदेशको आफ्नै आयोग भए पनि सबै आयोगको विश्वसनीयता कायम राख्न आधारभूत सिद्धान्त र मापदण्डमा सामञ्जस्य आवश्यक हुन्छ।
संघीय कानुनले निर्धारण गरेका आधार तथा मापदण्डको पालना गर्दै प्रदेशहरूले परीक्षा सञ्चालन र छनोट प्रक्रियालाई व्यवस्थित गर्दा सार्वजनिक सेवामा गुणस्तरको न्यूनतम राष्ट्रिय आधार कायम गर्न सकिन्छ।
६.८ सेवा प्रवाहको गुणस्तर सुधार
योग्य कर्मचारी छनोट हुनु प्रशासनिक सुधारको प्रारम्भिक चरण हो। कर्मचारीले नागरिकलाई समयमै, सहज, निष्पक्ष र गुणस्तरीय सेवा दिन सकेमा मात्र पदपूर्तिको वास्तविक उपलब्धि देखिन्छ।
त्यसैले आयोगको भूमिकालाई परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित रूपमा नहेरी कर्मचारी छनोटको गुणस्तर तथा त्यसबाट सार्वजनिक सेवामा पर्ने प्रभावका दृष्टिले पनि मूल्याङ्कन गर्नुपर्छ।
६.९ प्रशासनिक जवाफदेहिता र सुशासन प्रवर्द्धन
निष्पक्ष छनोट प्रक्रियाबाट प्रवेश गरेका कर्मचारीले कानुन र निर्धारित जिम्मेवारीअनुसार काम गर्ने संस्थागत आधार प्राप्त गर्छन्। यसले मनोमानी, अनियमितता र पक्षपात नियन्त्रण गर्न सहयोग गर्न सक्छ।
यद्यपि सुशासन कायम गर्न कर्मचारी छनोटसँगै नियमित अनुगमन, कार्यसम्पादन मूल्याङ्कन, तालिम, आचरणको पालना र प्रभावकारी गुनासो व्यवस्थापन पनि आवश्यक हुन्छ।
६.१० संघीयता र नागरिकबीचको सम्बन्ध सुदृढीकरण
संघीयताको मुख्य उद्देश्य राज्यको अधिकार र सेवा नागरिकको नजिक पुर्याउनु हो। प्रदेश तथा स्थानीय तहमा आवश्यक कर्मचारी उपलब्ध हुँदा नागरिकले आफ्नै क्षेत्रबाट सेवा प्राप्त गर्न सक्छन्।
यसरी प्रदेश लोक सेवा आयोगहरूले राज्यको प्रशासनिक संरचनालाई नागरिकको दैनिक जीवनसँग जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्।
७. प्रदेश लोक सेवा आयोगका प्रमुख चुनौती
प्रदेश लोक सेवा आयोगको संवैधानिक स्थापना महत्त्वपूर्ण उपलब्धि भए पनि प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयनमा विभिन्न संरचनात्मक, कानुनी, आर्थिक र व्यवस्थापकीय चुनौतीहरू रहेका छन्।
७.१ कानुनी अस्पष्टता र संघीय–प्रादेशिक समन्वयको समस्या
संघ, प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनसम्बन्धी कानुन, अधिकारक्षेत्र र प्रक्रियाबीच स्पष्टता नहुँदा पदपूर्ति तथा कर्मचारी व्यवस्थापनमा कठिनाइ हुन सक्छ। संघीय कानुन र प्रदेश कानुनबीच आवश्यक सामञ्जस्य नहुँदा निर्णय प्रक्रियामा ढिलाइ तथा अन्योल उत्पन्न हुन सक्छ।
सुधारको उपाय: कानुनी व्यवस्थाको नियमित समीक्षा, अधिकारक्षेत्रको स्पष्ट निर्धारण र तीनै तहका सरकारबीच संस्थागत समन्वय आवश्यक छ।
७.२ जनशक्ति अभाव
आयोगलाई कार्यसन्चालन र प्रशासनिक व्यवस्थापनका लागि दक्ष कर्मचारी आवश्यक पर्छन्। पर्याप्त जनशक्ति नहुँदा परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाइ हुन सक्छ।
सुधारको उपाय: आयोगको कार्यभारअनुसार दरबन्दी, विशेषज्ञ जनशक्ति, तालिम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ।
७.३ पर्याप्त बजेट र स्रोतसाधनको अभाव
आयोगलाई कार्यसम्पादन र अनुगमनका लागि पर्याप्त बजेट आवश्यक हुन्छ। सीमित स्रोतसाधनले आयोगको कार्यक्षमता प्रभावित गर्न सक्छ।
सुधारको उपाय: आवश्यकतामा आधारित बजेट विनियोजन, वित्तीय अनुशासन, लागत प्रभावकारिता र स्रोतसाधनको उचित परिचालन गर्नुपर्छ।
७.४ कर्मचारी माग र पदपूर्तिबीचको अन्तर
प्रदेश तथा स्थानीय तहले समयमै वास्तविक रिक्त पदको विवरण नपठाउँदा विज्ञापन र पदपूर्ति प्रक्रिया प्रभावित हुन सक्छ। माग, दरबन्दी र पदको योग्यतासम्बन्धी विवरणमा त्रुटि हुँदा प्रक्रिया थप जटिल बन्न सक्छ।
सुधारको उपाय: एकीकृत जनशक्ति अभिलेख प्रणाली विकास गरी रिक्त पदको अद्यावधिक विवरण र वार्षिक पदपूर्ति योजना तयार गर्नुपर्छ।
७.५ प्रक्रियामा ढिलाइ
विज्ञापनदेखि अन्तिम सिफारिससम्मका विभिन्न चरण समयमै पूरा नहुँदा योग्य उम्मेदवारले लामो समय प्रतीक्षा गर्नुपर्ने हुन्छ। यसले सरकारी कार्यालयमा रिक्तता कायम रहन र सेवा प्रवाह प्रभावित हुन सक्छ।
सुधारको उपाय: वार्षिक परीक्षा कार्यतालिका निर्माण, चरणगत समयसीमा, नियमित अनुगमन र डिजिटल कार्यप्रवाहको प्रभावकारी उपयोग गर्नुपर्छ।
७.६ राजनीतिक तथा प्रशासनिक दबाबको सम्भावना
आयोगको स्वतन्त्रता कमजोर हुँदा कर्मचारी छनोट प्रक्रियामा अनुचित प्रभाव पर्ने जोखिम रहन्छ। नियुक्ति, बजेट, कर्मचारी परिचालन वा प्रशासनिक निर्णयमा अनुचित दबाब भएमा संस्थागत निष्पक्षता प्रभावित हुन सक्छ।
सुधारको उपाय: संवैधानिक स्वायत्तताको सम्मान, कानुनी सुरक्षा, स्पष्ट आचारसंहिता र निर्णय प्रक्रियाको पारदर्शिता कायम गर्नुपर्छ।
७.७ प्रविधि र साइबर सुरक्षाको चुनौती
अनलाइन आवेदन, डिजिटल अभिलेख, कम्प्युटर प्रणाली तथा नतिजा व्यवस्थापनले कार्यसम्पादन सहज बनाउन सक्छन्। तर डिजिटल पूर्वाधारको अभाव, प्राविधिक समस्या, तथ्याङ्कको सुरक्षा र साइबर जोखिम चुनौतीका रूपमा रहन्छन्।
सुधारको उपाय: सुरक्षित डिजिटल प्रणाली, नियमित सुरक्षा परीक्षण, तथ्याङ्कको गोपनीयता, ब्याकअप र प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्छ।
७.८ दुर्गम क्षेत्रका उम्मेदवारको पहुँच
भौगोलिक विकटता, यातायात खर्च, इन्टरनेट पहुँच र सूचनाको सीमितताका कारण दुर्गम क्षेत्रका योग्य उम्मेदवारलाई प्रतिस्पर्धामा सहभागी हुन कठिनाइ हुन सक्छ।
सुधारको उपाय: परीक्षा केन्द्रको न्यायोचित वितरण, पहुँचयोग्य सूचना प्रणाली, अपाङ्गतामैत्री परीक्षा व्यवस्था र कानुनसम्मत सहजीकरणका उपाय अवलम्बन गर्नुपर्छ।
७.९ समावेशिता र प्रतिनिधित्वको प्रभावकारी कार्यान्वयन
समावेशी व्यवस्था कार्यान्वयन गर्दा आरक्षणको कानुनी आधार, समूह निर्धारण, प्रमाणपत्रको प्रमाणीकरणमा स्पष्टता आवश्यक हुन्छ। प्रक्रियागत त्रुटिले विवाद तथा उजुरी उत्पन्न गर्न सक्छ।
सुधारको उपाय: कानुनी व्यवस्थाको स्पष्ट व्याख्या, कार्यविधिमा एकरुपता, सही अभिलेख र निष्पक्ष प्रमाणीकरण प्रणाली विकास गर्नुपर्छ।
७.१० प्रदेशगत असमानता
प्रदेशहरूको प्रशासनिक क्षमता, बजेट, प्राविधिक पूर्वाधार र जनशक्ति फरक हुन सक्छ। यसले आयोगहरूको कार्यसम्पादनको गति र गुणस्तरमा भिन्नता ल्याउन सक्छ।
सुधारको उपाय: संघीय लोक सेवा आयोग र सातवटै प्रदेश लोक सेवा आयोगबीच अनुभव आदानप्रदान, साझा तालिम, प्राविधिक सहयोग र न्यूनतम संस्थागत मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।
७.११ कर्मचारी छनोट र वास्तविक कार्यसम्पादनबीचको सम्बन्ध
लिखित परीक्षामा राम्रो नतिजा ल्याउनु महत्त्वपूर्ण भए पनि त्यसले मात्र कार्यस्थलमा आवश्यक सबै क्षमता सुनिश्चित गर्दैन। व्यवहार, नैतिकता, नेतृत्व, समस्या समाधान र नागरिकमैत्री सेवा दिने क्षमतासमेत आवश्यक हुन्छ।
सुधारको उपाय: पदअनुसार सीप परीक्षण, प्रयोगात्मक मूल्याङ्कन र उपयुक्त छनोट विधिको विकास गर्नुका साथै नियुक्तिपछिको तालिम तथा कार्यसम्पादन मूल्याङ्कनलाई सुदृढ बनाउनुपर्छ।
८. प्रदेश लोक सेवा आयोगहरूको प्रभावकारिता अभिवृद्धिका उपाय
प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन प्रदेश लोक सेवा आयोगहरूको संस्थागत क्षमता, स्वतन्त्रता, कार्यदक्षता र विश्वसनीयता अभिवृद्धि गर्न आवश्यक छ। समग्रमा यसका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ।
- कानुनी स्पष्टता कायम गर्ने: संघ, प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनसम्बन्धी कानुनबीच सामञ्जस्य कायम गरी अधिकारक्षेत्र र जिम्मेवारी स्पष्ट पार्ने।
- संस्थागत स्वायत्तता सुदृढ गर्ने: आयोगलाई आवश्यक प्रशासनिक, वित्तीय तथा प्राविधिक स्वायत्तता प्रदान गरी अनुचित हस्तक्षेपबाट मुक्त राख्ने।
- समयबद्ध पदपूर्ति प्रणाली विकास गर्ने: वार्षिक कार्यतालिकाअनुसार विज्ञापन, परीक्षा, नतिजा प्रकाशन र सिफारिस सम्पन्न गर्ने।
- डिजिटल प्रणालीको विस्तार गर्ने: अनलाइन आवेदन, डिजिटल अभिलेख, परीक्षा व्यवस्थापन, नतिजा प्रकाशन र गुनासो सुनुवाइलाई सुरक्षित तथा प्रभावकारी बनाउने।
- विशेषज्ञ जनशक्ति विकास गर्ने: प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थापन, सूचना प्रविधि, तथ्याङ्क विश्लेषण र कानुनी विषयका दक्ष जनशक्ति तयार गर्ने।
- तीन तहबीच समन्वय बढाउने: संघीय लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोगहरू, प्रदेश सरकार र स्थानीय तहबीच नियमित समन्वय तथा अनुभव आदानप्रदान गर्ने।
- समावेशी पहुँच सुनिश्चित गर्ने: दुर्गम क्षेत्र, अपाङ्गता भएका व्यक्ति र विभिन्न सामाजिक समूहका योग्य उम्मेदवारलाई प्रतिस्पर्धामा सहभागी हुन आवश्यक सहजीकरण गर्ने।
- अनुसन्धानमा आधारित पाठ्यक्रम निर्माण गर्ने: पदको वास्तविक कार्यविवरण, आवश्यक सीप र बदलिँदो प्रशासनिक आवश्यकताका आधारमा पाठ्यक्रम परिमार्जन गर्ने।
- उजुरी तथा गुनासो व्यवस्थापन सुधार गर्ने: उम्मेदवारका उजुरीलाई समयमै, निष्पक्ष र कानुनसम्मत ढङ्गले सम्बोधन गर्ने।
- कार्यसम्पादनमा आधारित अनुगमन गर्ने: पदपूर्ति दर, समयसीमा, लागत, प्रक्रियागत त्रुटि, उजुरी र सेवाको गुणस्तरका आधारमा संस्थागत कार्यसम्पादन मूल्याङ्कन गर्ने।
- वार्षिक प्रतिवेदनको प्रभावकारी उपयोग गर्ने: प्रतिवेदनमा प्रस्तुत समस्या, उपलब्धि र सुझावलाई नीतिगत तथा संस्थागत सुधारसँग जोड्ने।
- नैतिकता र व्यावसायिकता अभिवृद्धि गर्ने: पदाधिकारी, कर्मचारी, विज्ञ र परीक्षकका लागि आचारसंहिता, गोपनीयता र हितको द्वन्द्व व्यवस्थापनसम्बन्धी व्यवस्था प्रभावकारी बनाउने।
९. निष्कर्ष
नेपालको संघीय शासन प्रणालीको सफलताका लागि राजनीतिक संघीयतासँगै प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ। संविधानले प्रदेश तथा स्थानीय तहलाई प्रदान गरेका अधिकार र जिम्मेवारी व्यवहारमा उतार्न सक्षम, दक्ष, निष्पक्ष, समावेशी र उत्तरदायी कर्मचारीतन्त्र आवश्यक हुन्छ। यही आवश्यकता पूरा गर्न प्रदेश लोक सेवा आयोगहरूको महत्त्वपूर्ण भूमिका रहेको छ।
नेपालको संविधानको धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने व्यवस्था गरी प्रशासनिक संघीयताको संवैधानिक आधार निर्माण गरेको छ। प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ ले आयोगहरूको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार तथा मापदण्ड निर्धारण गरेको छ। प्रदेश कानुनहरूले आयोगको संस्थागत गठन र कार्यसञ्चालनलाई थप व्यवस्थित बनाएका छन्। वर्षेनी हुने लोकसेवा आयोगहरुको राष्टिय सम्मेलनहरुले समेत आयोगहरु बीचको समन्वयलाइ थप गतिशील बनाएका छन् ।
सातवटै प्रदेश लोक सेवा आयोगले योग्यता प्रणाली, निष्पक्षता, स्वच्छता, समावेशिता र प्रतिस्पर्धात्मक छनोटमार्फत सार्वजनिक प्रशासनलाई व्यावसायिक बनाउन योगदान पुर्याउँछन्। तिनको प्रभावकारी कार्यसम्पादनले प्रदेश तथा स्थानीय तहको संस्थागत क्षमता विकास, कर्मचारी पदपूर्ति, सेवा प्रवाह र सुशासनमा सकारात्मक योगदान दिन सक्छ।
यद्यपि संघीय निजमती एन जारी नहुँदा कानुनी अस्पष्टता, जनशक्ति र बजेटको अभाव, पदपूर्तिमा ढिलाइ, प्रविधिगत चुनौती, समन्वयको कमी तथा संस्थागत स्वायत्ततासम्बन्धी समस्या समाधान नगरेसम्म अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन्छ। त्यसैले कानुनी सुधार, पर्याप्त स्रोतसाधन, प्रविधिको उपयोग, नियमित अनुगमन र संघीय–प्रादेशिक–स्थानीय तह बीचको समन्वयलाई प्राथमिकता दिनुपर्छ।
अन्ततः, प्रदेश लोक सेवा आयोगहरू केवल कर्मचारी छनोट गर्ने निकाय मात्र होइनन्; ती प्रशासनिक संघीयताको संस्थागत आधार, योग्यता प्रणालीका संरक्षक र नागरिकमैत्री सार्वजनिक प्रशासन निर्माणका महत्त्वपूर्ण संवैधानिक संयन्त्र हुन्। यी आयोगहरूलाई सक्षम, स्वतन्त्र, निष्पक्ष र जवाफदेही बनाउन सकिएमा संघीयताको लाभ नागरिकसम्म पुर्याउन तथा समृद्ध, सुशासित र सेवामुखी राज्य निर्माण गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ।
धन्यवाद ।




प्रतिक्रिया