ADVERTISEMENT

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सहुलियतसहितको ‘सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ग्राहकलाई सहज र सुलभ आवास वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले ९० दिनका लागि उक्त योजना ल्याएको हो।

योजनाअन्तर्गत ग्राहकले घर खरिद, निर्माण तथा मर्मतका साथै अपार्टमेन्ट खरिदका लागि कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियमबाट सुरु हुनेछ। कर्जाको अधिकतम अवधि २५ वर्ष र सेवा शुल्क ०.२५ प्रतिशत निर्धारण गरिएको छ।

योजनाअन्तर्गत कर्जा लिने ग्राहकले पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।

बैंकका अनुसार उक्त योजना २०८३ कात्तिक १५ देखि माघ १५ गतेसम्म लागू हुनेछ। बैंकले आगामी कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउँदै छ।

नेपालभर २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको नेपाल बैंकले करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। आधुनिक बैंकिङ प्रविधि, ग्राहक सेवाको गुणस्तर र वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकले यस योजनामार्फत आवास कर्जालाई थप सहज र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार