भक्तपुर । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धकलाको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ।
तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवचसहित निस्कने जात्रामा गुठियारले परम्परागत युद्धकला प्रदर्शन गरेका थिए।
जात्रा थहनेया (माथिल्लो टोल) अन्तर्गत इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया (तल्लो टोल) अन्तर्गत दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गर्ने परम्परा छ।
जात्राका क्रममा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि, कोतभित्रका देवता तथा दरबारको राजदण्डसहित नगर परिक्रमा गराइन्छ। बालकुमारीमा कुभिण्डो काटेर बलि दिने परम्परासमेत रहेको छ। बलि दिइएको कुभिण्डो प्रसादका रूपमा ग्रहण गरे रोगबाट बच्न सकिने जनविश्वास छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको जात्रा अवलोकन गर्न स्थानीयवासीको ठूलो भीड लागेको थियो।




प्रतिक्रिया