- शल्यक्रियाको भोलिपल्टै रगत बगिरहेको हातमा पट्टी बाँधेर कार्यालय पुगे, राति सात बजेसम्म कर्मचारीसँग सेवा सुधारकै छलफलमा जुटे
- ध्वस्त जिल्ला प्रशासन कार्यालय सम्हाल्ने चुनौतीपूर्ण जिम्मेवारी स्वीकारेर सेवा पुनः सञ्चालनदेखि सेवाग्राहीमैत्री प्रणालीको विकाससम्म सक्रिय पौडेलको कार्यशैली अन्य प्रशासक र कर्मचारीका लागि पनि प्रेरणाको विषय
सागर पण्डित, काठमाडौं ।
हातमा पट्टी बाँधिएको छ। पट्टीभित्रको घाउबाट अझै रगत चुहिरहेको छ। चिकित्सकले शल्यक्रियापछि केही दिन आराम गर्न सल्लाह दिएका छन्। शरीरलाई विश्राम चाहिएको छ। तर, मनमा भने कार्यालयको काम, सेवाग्राहीको सहजता ,कार्यालयको सेवाप्रवाह अझै बढाउने उच्च हुटहुटी र प्रशासनलाई अझ प्रभावकारी बनाउने योजनाले ठाउँ ओगटिरहेको छ।
यस्तो अवस्थामा धेरै मानिसले स्वाभाविक रूपमा आराम रोज्छन्। स्वास्थ्यलाई प्राथमिकता दिनु पनि आवश्यक छ। तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल भने शल्यक्रियाको भोलिपल्टै पट्टी बाँधिएको हात लिएर कार्यालय पुगे। साँझ पर्दै जाँदा पनि उनको सक्रियता रोकिएन। शुक्रबार राति करिब सात बजे सम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मातहतका कर्मचारीसँग छलफल गरिरहेका उनी आगामी दिनमा सेवा प्रवाहलाई अझ आधुनिक, व्यवस्थित र सेवाग्राहीमैत्री कसरी बनाउने भन्ने योजनामा केन्द्रित थिए।
उनको हातमा बाँधिएको पट्टीबाट रगत बगिरहेको थियो थियो। तर, उनी कर्मचारीलाई धन्यवाद दिँदै थिए, आगामी दिनका योजना सुनाउँदै थिए र नागरिकले सरकारी सेवा लिँदा भोग्नुपर्ने झन्झट अझै कसरी घटाउन सकिन्छ भन्नेबारे छलफल गरिरहेका थिए।
त्यो दृश्यले एउटा प्रश्न जन्माउँथ्यो—आखिर कुनै प्रशासकलाई आफ्नो जिम्मेवारीप्रति यति धेरै प्रतिबद्ध बनाउने कुरा के हो?
जवाफ उनको व्यवहारमै देखिन्थ्यो। उनी आफ्ना लागि होइन, आफूले सम्हालेको संस्थाले जनतालाई दिने सेवाका लागि चिन्तित थिए। उनको प्राथमिकतामा व्यक्तिगत असहजताभन्दा सार्वजनिक जिम्मेवारीको निरन्तरता थियो।
प्रशासनपोस्टले शुक्रबार साँझ देखेको यो दृश्य कुनै सामान्य कार्यालयीय गतिविधि थिएन। यो जिम्मेवारीबोध, सेवाभाव र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नो भूमिकालाई कसरी बुझ्छ भन्ने कुराको एउटा जीवन्त उदाहरण थियो।
घाउमा पट्टी, मनमा सेवा सुधारको योजना
शुक्रबार साँझ कार्यालय समय सकिएपछि पनि पौडेल कर्मचारीसँग छलफलमा व्यस्त थिए। उनले एक वर्षको अवधिमा सेवा प्रवाहमा सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा गर्नुपर्ने सुधारका विषय उठाइरहेका थिए।
सरकारी कार्यालयको नियमित समय बिहान ९ देखि साँझ ५ बजेसम्म भए पनि त्यस दिन उनी कार्यालय समयपछि पनि छलफलमा जुटेका थिए। सेवाग्राहीलाई दिइने सेवा अझ प्रभावकारी बनाउन कर्मचारीको भूमिका, प्रविधिको प्रयोग र सेवा व्यवस्थापनका विषयमा उनले आफ्ना योजना सुनाइरहेका थिए।
त्यही क्रममा उनको हातमा बाँधिएको पट्टीबाट रगत चुहिरहेको प्रशासनपोस्टको नजरमा पर्यो।
के भएको हो भनेर सोध्दा पौडेलले करिब डेढ साताअघि पाखुरामा सानो फोकाजस्तो घाउ आएको बताए। सुरुमा सामान्य ठानेर आफैँ फुटाएको तर त्यसपछि घाउ बढ्दै गएर ठूलो पिलो र खटिराको रूप लिएको उनको भनाइ थियो।
घाउ बढ्दै गएपछि पीडा पनि असह्य हुन थालेको थियो। तीन–चार दिनसम्म निकै दुखाइ सहनुपरेको उनले सुनाए। सुरुमा सामान्य समस्या ठानेर बेवास्ता गरे पनि अवस्था बिग्रँदै गएपछि उनी बिहीबार अस्पताल पुगे।
चिकित्सकले घाउको शल्यक्रिया गरेर पट्टी बाँधिदिए र केही दिन आराम गर्न तथा एन्टिबायोटिक औषधि सेवन गर्न सल्लाह दिए।
तर, बिहीबार शल्यक्रिया गराएका पौडेल शुक्रबार फेरि कार्यालय पुगे। हातमा पट्टी थियो। घाउबाट रगत चुहिन रोकिएको थिएन। तैपनि उनको ध्यान कार्यालयको काममै थियो।
प्रशासनपोस्टसँगको कुराकानीमा उनले हाततिर देखाउँदै सहज भावमा भने, ‘हातमा आएको घाउको अप्रेसन भइसकेको छ। अब सञ्चो हुन्छ भन्ने विश्वास छ। कार्यालयको काम किन रोक्ने?’
उनको भनाइमा कुनै नाटकीयता थिएन। न त आफ्नो पीडालाई ठूलो बनाएर प्रस्तुत गर्ने चाहना नै देखिन्थ्यो। सामान्य रूपमा आफ्नो जिम्मेवारीबारे बताइरहेका थिए उनी।
त्यस दिनको दृश्यले भने उनको प्राथमिकता स्पष्ट पारिरहेको थियो—कार्यालयको सेवा र सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता।
औषधि खानसमेत बिर्सिने गरी काममा व्यस्त
कुराकानीका क्रममा पौडेलले नियमित रूपमा खानुपर्ने एन्टिबायोटिक औषधिको दिउँसोको मात्रा खान बिर्सिएको पनि सुनाए।
कार्यालयको काममा व्यस्त हुँदा औषधि खानसमेत बिर्सिएछन्। यो विवरणले उनको व्यस्तताको एउटा पाटो देखाउँछ। यद्यपि, शल्यक्रियापछि चिकित्सकको सल्लाहअनुसार आराम गर्नु र औषधि नियमित सेवन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
पौडेलका अनुसार सानोतिनो स्वास्थ्य समस्या हुँदा पनि उनी सकेसम्म कार्यालयको जिम्मेवारीबाट पन्छिने गरेका छैनन्। सामान्य ज्वरो, रुघाखोकी वा अन्य शारीरिक असहजताका बेला पनि औषधि सेवन गरेर काममा जाने गरेको उनले बताए।
कहिलेकाहीँ भाइरल संक्रमणका बेला १०२ डिग्रीसम्म ज्वरो आउँदासमेत सिटामोल खाएर कार्यालय पुगेको प्रसंग पनि उनले स्मरण गरे।
‘ठूलै समस्या भएर सुत्नैपर्ने र रोगले नै ढाल्ने अवस्था नआएसम्म कार्यालयको जिम्मेवारी छाड्नु हुँदैन भन्ने मेरो सोच हो,’ उनको भनाइको आशय थियो।
उनको यो कार्यशैलीलाई व्यक्तिगत जिम्मेवारीबोध र कामप्रतिको लगावका रूपमा हेर्न सकिन्छ। पौडेलको यो
प्रसंगले सार्वजनिक जिम्मेवारीलाई व्यक्तिगत सुविधाभन्दा माथि राख्ने सोचको महत्त्व उजागर गरेको छ।
एक वर्षमा एक दिन पनि बिदा नलिएको उनको भनाइ
ईश्वरराज पौडेल काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्न आएको असोज ९ गते एक वर्ष पूरा भएको थियो।
उनले प्रशासनपोस्टसँगको कुराकानीमा उक्त एक वर्षको अवधिमा आफूले एक दिन पनि बिदा नलिएको र काठमाडौं उपत्यकाबाहिरसमेत नगएको बताए।
‘यो एक वर्षमा मैले काठमाडौं उपत्यका पनि छोडेको छैन र एक दिन पनि बिदा बसेको छैन,’ उनले भने।
उनको भनाइअनुसार, यस अवधिमा उनी निरन्तर काठमाडौंको प्रशासनिक जिम्मेवारीमा सक्रिय रहे। कार्यालयको काम, सेवा प्रवाहमा सुधार र प्रशासनिक व्यवस्थापन उनका नियमित प्राथमिकता बने।
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी आफैँमा संवेदनशील हुन्छ। जिल्लाको शान्तिसुरक्षा, सार्वजनिक सुव्यवस्था, विपद् व्यवस्थापन, नागरिकता तथा अन्य प्रशासनिक सेवा, विभिन्न निकायबीच समन्वय र नागरिकका गुनासो सम्बोधन गर्नुपर्ने दायित्व यस पदसँग जोडिएको हुन्छ।त्यसमाथि काठमाडौं प्रशासनले अन्य ७६ वटै जिल्लाबासीको समस्या समाधान गर्नुपर्ने हुन्छ । दैनिक हजारौ सेवाग्राहीको काम फत्ते पार्नुपर्ने हुन्छ । काठमाडौंजस्तो अत्यधिक जनचाप, राजनीतिक गतिविधि र प्रशासनिक संवेदनशीलता भएको जिल्लामा नेतृत्व गर्नु थप चुनौतीपूर्ण काम हो।
यस्तो जिम्मेवारीमा निरन्तर सक्रिय रहनु, कामको चापबीच सेवा सुधारका योजना बनाउनु र कर्मचारीलाई परिचालित गर्नु आफैँमा उल्लेखनीय कार्यशैली हो।
जब काठमाडौं प्रशासन खरानीबाट उठ्नुपर्ने अवस्थामा थियो
पौडेलको यो निरन्तर सक्रियताको पृष्ठभूमिमा अर्को महत्त्वपूर्ण अध्याय पनि छ—ध्वस्त भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पुनः सञ्चालनमा ल्याउने चुनौती।
२०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ठूलो क्षति पुगेको थियो। आगजनी र तोडफोडका कारण कार्यालयको भौतिक संरचना तथा काम गर्ने वातावरण गम्भीर रूपमा प्रभावित भएका थिए। कार्यालयको नियमित कामकाज सञ्चालन गर्नसमेत कठिन भएको थियो।
त्यतिबेला प्रशासनिक सेवा अवरुद्ध हुँदा नागरिकले प्रत्यक्ष असर भोग्नुपरेको थियो।यस्तो अवस्थामा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउनु, कर्मचारीलाई व्यवस्थित गर्नु, सेवा प्रवाहको वैकल्पिक व्यवस्था मिलाउनु र नागरिकको विश्वास पुनः स्थापित गर्नु प्रमुख चुनौती थिए।
आन्दोलनपछि कार्यालयको अवस्था अस्तव्यस्त थियो। प्रशासनिक कामकाज सहज रूपमा अघि बढ्न सकेको थिएन। त्यस्तो परिस्थितिमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न जानु सहज निर्णय थिएन।
पौडेलका अनुसार, उनीभन्दा पहिले त्यहाँ जिम्मेवारी सम्हालिरहेका अधिकारीले पनि असहज परिस्थितिको सामना गर्नुपरेको थियो। नयाँ जिम्मेवारीका लागि उपयुक्त अधिकारी खोज्ने क्रममा चुनौती रहेको अवस्थामा उनले जोखिमपूर्ण जिम्मेवारी स्वीकार गर्ने निर्णय गरे।
त्यतिबेला उनी उद्योग मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए। त्यहाँबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएर उनले ध्वस्त कार्यालयलाई पुनः सञ्चालनमा ल्याउने काममा ध्यान केन्द्रित गरे।
कुनै पनि संस्थाको संकट व्यवस्थापनमा नेतृत्वको पहिलो परीक्षा त्यही बेला हुन्छ, जब उपलब्ध स्रोतसाधन सीमित हुन्छन्, काम गर्ने वातावरण अनुकूल हुँदैन र नागरिकको अपेक्षा भने तत्काल सेवा पाउने हुन्छ।पौडेलका लागि पनि त्यो समय त्यस्तै परीक्षा थियो।
ध्वस्त कार्यालय, तर रोकिएन जनताको सेवा
कार्यालयको भौतिक संरचना क्षतिग्रस्त भएको अवस्थामा सबै सेवा नियमित भवनबाट सञ्चालन गर्न सम्भव थिएन। त्यसैले नजिकैको अर्को सरकारी कार्यालयबाट सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएर नागरिकलाई प्रशासनिक सेवासँग पुनः जोड्ने काम पौडेलले गरे । संकटमा प्रशासनको क्षमता भवनको अवस्थाले मात्र निर्धारण गर्दैन। उपलब्ध स्रोतसाधनको उपयोग, वैकल्पिक व्यवस्था, कर्मचारीको परिचालन र नागरिकलाई सेवा दिने इच्छाशक्तिले पनि निर्धारण गर्छ।
ध्वस्त संरचनाका कारण सेवा सञ्चालनमा समस्या आउनु स्वाभाविक थियो। तर नागरिकका आवश्यकता रोकिँदैनन्। कार्यालयको भवन बिग्रिए पनि नागरिकलाई नागरिकता चाहिन्छ, प्रशासनिक काम गर्नुपर्छ र राज्यबाट सेवा प्राप्त गर्नुपर्छ।यही वास्तविकतालाई ध्यानमा राखेर वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्नु र कर्मचारीलाई काममा परिचालित गर्नु संकट व्यवस्थापनको महत्त्वपूर्ण अभ्यास थियो।पौडेलले त्यतिबेला चुनौतीलाई अवसरमा बदल्दै प्रभावकारी काम थाले ।
त्यसैले उनको काठमाडौं आगमनको कथालाई केवल एक जना अधिकारीको सरुवाका रूपमा मात्र हेर्न मिल्दैन। यो संकटग्रस्त संस्थालाई पुनः सञ्चालनमा ल्याउने जिम्मेवारी स्वीकार गर्ने र त्यसलाई क्रमशः व्यवस्थित बनाउने प्रशासनिक यात्राको पनि कथा हो।
लाइन बस्नुपर्ने बाध्यता अन्त्य: टोकनदेखि निःशुल्क वाइफाईसम्म
कार्यालयलाई पुनः सञ्चालनमा ल्याउनु पहिलो चुनौती थियो। तर, सेवा सञ्चालन हुनु र नागरिकले सहज रूपमा सेवा पाउनु फरक कुरा हुन्।
कार्यालय खुलेपछि पनि सेवाग्राहीले लामो लाइन बस्नुपर्ने, कुन कामका लागि कहाँ जाने भन्ने अन्योल हुने, आवश्यक जानकारी नपाउने र सामान्य कामका लागि समेत धेरै समय खर्चिनुपर्ने समस्या रहन सक्छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय यस्ता झन्झट घटाउने उद्देश्यले सेवाग्राहीमैत्री व्यवस्था सञ्चालनमा ल्याइएको छ।
पौडेलको नेतृत्वमा सार्वजनिक घोषणा प्रणाली (Public Announcement System—PAS) मार्फत सेवाग्राहीलाई आवश्यक जानकारी दिने, टोकन प्रणालीबाट काम अघि बढाउने र कार्यालयमा आउने नागरिकलाई सेवा प्राप्त गर्ने प्रक्रियाबारे मार्गदर्शन गर्ने व्यवस्था गरिएको छ।
कार्यालयमा आउने सेवाग्राहीलाई स्वयंसेवकमार्फत आवश्यक जानकारी र सहजीकरण उपलब्ध गराइन्छ। कुन सेवा कहाँबाट प्राप्त गर्ने, प्रक्रिया कसरी अघि बढाउने र आफ्नो पालो कहिले आउँछ भन्ने विषयमा जानकारी दिने प्रयासले सेवाग्राहीको अन्योल कम गर्न सहयोग पुर्याएको छ।
टोकन प्रणालीले पालो व्यवस्थापनलाई व्यवस्थित बनाएको छ । निःशुल्क वाइफाइ, बस्नका लागि व्यवस्थित ठाउँ र तातो तथा चिसो पानीको सुविधाले कार्यालयमा सेवा लिन आउने नागरिकको प्रतीक्षा अनुभवलाई सहज बनाएको छ भने उनीहरु सेवाप्रवाह प्रति नीकै प्रफुल्ल देखिने गरेका छन् ।
कार्यालयमा आउने नागरिकलाई केवल सेवाग्राहीका रूपमा होइन, सम्मान र सहजीकरण पाउनुपर्ने नागरिकका रूपमा व्यवहार गर्नु नै सेवाग्राहीमैत्री प्रशासनको आधार हो।
प्रशासनपोस्टसँगको कुराकानीमा पौडेलले यी व्यवस्थालाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना सुनाए। उनले सार्वजनिक घोषणाको प्रणालीसँगै व्यक्तिगत रूपमा सेवाग्राहीलाई सूचना दिने प्रणाली (Individual Announcement System—IAS) विकास गर्ने सोच पनि कर्मचारीमाझ राखिरहेका थिए।
यसको उद्देश्य सेवाग्राहीलाई सामान्य सूचना मात्र दिनु नभई सम्बन्धित व्यक्तिले आफ्नो कामको अवस्थाबारे अझ स्पष्ट जानकारी पाउने व्यवस्था विकास गर्नु हो।
यदि यस्ता प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने नागरिकले सरकारी कार्यालयमा बिताउनुपर्ने अनावश्यक समय घटाउन र सेवा प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्न सक्छ।
राष्ट्रसेवकको सम्मान, जनताको सेवाको सम्मान
सरकारी सेवामा प्रवेश गर्नु भनेको केवल जागिर पाउनु होइन। सार्वजनिक स्रोतसाधन र अधिकारको प्रयोग गर्दै नागरिकको सेवा गर्ने जिम्मेवारी स्वीकार गर्नु पनि हो।
त्यसैले सार्वजनिक पदमा बसेका व्यक्तिको मूल्यांकन उनीहरूको पद, पहुँच वा प्रभावका आधारमा मात्र होइन, उनीहरूले नागरिकका लागि के गरे भन्ने आधारमा हुनुपर्छ।
कार्यालयमा आउने सेवाग्राहीलाई सहज सेवा दिनु, संकटमा संस्थालाई सम्हाल्नु, कर्मचारीलाई प्रेरित गर्नु र सुधारका काम अघि बढाउनु सार्वजनिक प्रशासनका महत्त्वपूर्ण उपलब्धि हुन्।
ईश्वरराज पौडेलको पछिल्लो कार्यशैलीले यी विषयमा बहस गर्ने अवसर दिएको छ। उनको एक वर्षको कार्यकाल, बिदा नलिएको उनको भनाइ, घाउको शल्यक्रियापछि पनि कार्यालयमा उपस्थित भएको प्रसंग र सेवा प्रवाह सुधारका योजनाले जिम्मेवारीबोधको एउटा प्रेरणादायी चित्र प्रस्तुत गर्छन्।
यस्ता उदाहरणलाई समाजले उचित कदर गर्नुपर्छ। राम्रो काम गर्ने प्रशासक र कर्मचारीको प्रशंसा गर्दा अरूलाई पनि सकारात्मक काम गर्न प्रेरणा मिल्न सक्छ। साथै, राम्रो कामको संस्थागत अभिलेख राख्ने, सिकाइ साझा गर्ने र कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्ने व्यवस्था विकास गर्न सकियो भने त्यसको प्रभाव अझ व्यापक हुन सक्छ।







प्रतिक्रिया