ADVERTISEMENT

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका छ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने तथा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

त्यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा भुक्तानी तथा फर्छ्यौटसम्बन्धी संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुने छ।

राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछिन्। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन पनि पेस हुने कार्यसूची छ।

यसैबीच, कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकसमेत आज बस्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार