काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज काठमाडौं फर्किएका छन्।
कतार एयरवेजमार्फत बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका वाग्ले बैठकबाट नेपालको पूर्वाधार विकास, लगानी विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय सहकार्यका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।
कतारको दोहामा भएको एआईआईबीको वार्षिक बैठकले वाग्लेलाई सन् २०२६–२७ का लागि बैंकको गभर्नर परिषद्को उप–सभापतिमा निर्वाचित गरेको थियो। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक उप–सभापतिमा निर्वाचित भएको हो।
बैठकमा वाग्लेले नेपालजस्ता कम विकसित मुलुकमा सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए। उनले सहुलियतपूर्ण वित्तीय स्रोत उपलब्ध गराउँदै स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित गर्नुपर्ने धारणा पनि राखेका थिए।
भ्रमणका क्रममा उनले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए।

प्रतिक्रिया