ADVERTISEMENT

मेचीनगर नगरपालिकाको एक्सन : चारआलीमा अनुमति र दर्ताबिनै चलेको अस्पतालमा शिल

पटक–पटक सचेत गराउँदा पनि अटेर, म्याद नाघेका औषधिसमेत फेला


झापा । झापाको मेचीनगर नगरपालिकाले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक स्वीकृति तथा दर्ता पूरा नगरी सञ्चालनमा रहेको चारआलीस्थित मनकामना अस्पतालमा शिलबन्दी गरेको छ।

नगरपालिकाबाट मंगलबार बजार अनुगमनका लागि खटिएको टोलीले अस्पतालको अनुगमन गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य संस्था सञ्चालन भइरहेको तथा म्याद नाघेका औषधिसमेत फेला पारेपछि अस्पतालमा शिलबन्दी गरिएको हो।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अस्पतालले सञ्चालनका लागि आवश्यक स्वीकृति नलिएको, दर्ता तथा नवीकरणलगायतका आवश्यक कागजात पूरा नगरेको र म्याद नाघेका औषधि राखिएको पाइएपछि तत्काल सेवा सञ्चालनमा रोक लगाइएको हो।

दुईपटक पत्र काट्दा पनि अटेर

नगरपालिकाले मनकामना अस्पताललाई स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न यसअघि नै पटक–पटक सचेत गराएको थियो।

नगरपालिकाका अनुसार २०८२ असोज ३० गते र कार्तिक ३० गते गरी दुईपटक अस्पताललाई पत्र पठाएर आवश्यक दर्ता तथा कानुनी प्रक्रिया पूरा गरी मात्र स्वास्थ्य सेवा सञ्चालन गर्न सचेत गराइएको थियो।

तर, पटक–पटकको पत्राचार र सचेत गराउँदा पनि आवश्यक कागजात तथा स्वीकृति पूरा नगरी अस्पताल सञ्चालन भइरहेको पाइएपछि नगरपालिकाले अनुगमनका क्रममा शिलबन्दीको निर्णय गरेको हो।

‘कागजात पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइयो’

अनुगमन टोलीका खाद्य विश्लेषक दीपेन्द्र कार्कीका अनुसार अस्पतालका सञ्चालक डा. दिलिपकुमार यादवले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेको पाइएको थियो।

त्यसैगरी, अस्पतालमा म्याद नाघेका औषधि प्रयोगका लागि राखिएको समेत अनुगमनका क्रममा फेला परेको उनले बताए।

कार्कीका अनुसार नगरपालिकाले यसअघि नै आवश्यक प्रक्रिया पूरा गर्न सचेत गराए पनि त्यसलाई बेवास्ता गर्दै अस्पताल सञ्चालन भइरहेको पाइएपछि स्थानीय, जनप्रतिनिधि तथा अस्पतालका कर्मचारीको रोहवरमा शिलबन्दी गरिएको हो।

“आवश्यक कागजात पूरा नगरी र स्वीकृति नलिई अस्पताल सञ्चालन गरिएको पाइयो। अनुगमनका क्रममा म्याद नाघेका औषधिसमेत फेला परेपछि कानुनी प्रक्रिया र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिलबन्दी गरिएको हो,” कार्कीले बताए।

स्वास्थ्य संस्थामाथि स्थानीय सरकारको निगरानी

स्थानीय तहमा स्वास्थ्य संस्था सञ्चालनको नियमन, अनुगमन तथा नागरिकलाई गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ।

विशेषगरी स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा नागरिकको जीवन र सुरक्षासँग जोडिएको क्षेत्र भएकाले दर्ता, स्वीकृति, नवीकरण, आवश्यक मापदण्ड तथा औषधिको गुणस्तर लगायतका विषयमा सम्झौता गर्न नसकिने नगरपालिकाको भनाइ छ।

नगरपालिकाले सञ्चालनको कानुनी आधार नै पूरा नगरी स्वास्थ्य संस्था सञ्चालन गर्ने तथा मापदण्डविपरीत सेवा दिने प्रवृत्तिमाथि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

संयुक्त अनुगमन टोली

मनकामना अस्पतालमा गरिएको अनुगमनमा नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्की, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, नगर अस्पतालका चिकित्सक डा. प्रकाशचन्द्र गछदार, पशु चिकित्सक डा. सुशान्त भट्टराई, मेचीनगर–१३ का कार्यवाहक वडाध्यक्ष रविन्द्र न्यौपाने, कार्यपालिका सदस्य अमित खम्बु सहभागी थिए।

त्यस्तै, इलाका प्रहरी कार्यालय चारआलीका प्रमुख प्रहरी सहायक निरीक्षक किरण राई, प्रहरी हवलदार कल्पना भण्डारी, नगर प्रहरी विशाल राजवंशी, दीपाकुमारी राजवंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कानुनी प्रक्रिया, मापदण्ड र नागरिकको स्वास्थ्य सुरक्षालाई बेवास्ता गर्ने कुनै पनि गतिविधिमाथि अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार