ADVERTISEMENT

रसुवा बाढीको बीमा दाबी फछ्र्योट कार्यविधि लागू


काठमाडौँ। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट भएको क्षतिको बीमा दाबी छिटो फछ्र्योट गर्न ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी कार्यविधि’ लागू गरेको छ।

कार्यविधिअनुसार बीमितले क्षतिको सूचना लिखित, मौखिक वा विद्युतीय माध्यमबाट बीमकलाई दिन सक्नेछन्। सूचना प्राप्त भएपछि बीमकले दाबी नम्बर उपलब्ध गराई फछ्र्योट प्रक्रिया अघि बढाउनुपर्नेछ।

प्राविधिक जटिलता नभएका र सरल प्रकृतिका ५ लाख रुपैयाँसम्मका दाबी बीमकले सर्भेयर नियुक्त नगरी आफ्नै कर्मचारीमार्फत फछ्र्योट गर्न सक्ने व्यवस्था गरिएको छ। स्थलगत निरीक्षण सम्भव नभए फोटो, भिडियो, डिजिटल अभिलेख तथा सरकारी वा वित्तीय प्रमाणका आधारमा क्षति मूल्याङ्कन गर्न सकिनेछ।

बीमितलाई राहत दिन सर्भेयरको प्रारम्भिक मूल्याङ्कन वा उपलब्ध प्रमाणका आधारमा अनुमानित दायित्वको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था छ। पूर्ण रूपमा बगेका सवारी साधनमा पनि बीमाङ्क वा प्रचलित बजार मूल्यमध्ये बढी रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न सकिनेछ।

बाढीका कारण भौतिक कागजात नष्ट भएको अवस्थामा डिजिटल अभिलेखलाई मान्यता दिइनेछ। सामान्य हदम्याद ढिला भएको कारण मात्र दाबी अस्वीकार गर्न नपाइने तथा प्रहरी प्रतिवेदन उपलब्ध नभए अन्य सरकारी निकायको प्रमाणका आधारमा पनि दाबी फछ्र्योट गर्न सकिने कार्यविधिमा उल्लेख छ।

झुट्टा विवरण वा गलत सूचना दिएर दाबी भुक्तानी लिएको प्रमाणित भएमा प्रचलित कानूनअनुसार कारबाही गरी भुक्तानी भएको रकमसमेत फिर्ता असुल गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार