काठमाडौँ । चामल उद्योगीहरूले मूल्य घटाउने प्रतिबद्धता गरेको दुई साता बितिसक्दा पनि बजारमा चामलको मूल्य घटेको छैन। उद्योगीहरूले प्रतिबोरा १२५ देखि २०० रुपैयाँसम्म मूल्य घटाउने सहमति जनाए पनि उपभोक्ताले त्यसको लाभ पाउन सकेका छैनन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगी तथा व्यापारीसँगको छलफलमा मूल्य घटाउने सहमति भए पनि अनुगमनका क्रममा बजारमा मूल्य घटेको नपाइएको हो। नेपाल खुद्रा व्यापार सङ्घले पनि तीन महिनादेखि बढेको चामलको मूल्य अहिलेसम्म व्यवहारमा नघटेको जनाएको छ।
थोक व्यवसायीहरूले भने महँगो मूल्यमा खरिद गरिएको पुरानो मौज्दात र ढुवानी समस्याका कारण मूल्य घट्न समय लागेको बताएका छन्। पृथ्वी राजमार्गलगायतका सडक सञ्चालन सहज भएपछि अधिकांश ब्रान्डका चामलको मूल्य प्रतिबोरा ७५ देखि १२५ रुपैयाँसम्म घट्न सक्ने उनीहरूको भनाइ छ।
नयाँ धान बजारमा आएपछि चामलको मूल्य थप १० देखि १५ प्रतिशतसम्म घट्ने उद्योगीहरूले बताएका छन्। यस्तै, ढुवानी सहजता र अन्तर्राष्ट्रिय बजारमा मूल्य स्थिर भएकाले खानेतेल र दालको मूल्य पनि घटाउने तयारी भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया