ADVERTISEMENT

भारतले तेलको भन्सार घटाएपछि नेपाली निर्यातमा दबाब


काठमाडौं । भारतले पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा आयात शुल्क घटाएपछि नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा दबाब बढ्ने भएको छ।

भारतले सेप्टेम्बर २४ देखि कच्चा पाम र सोयाबिन तेलको आधारभूत भन्सार शुल्क १० प्रतिशतबाट ५ प्रतिशतमा झारेको छ भने कच्चा सूर्यमुखी तेलको १० प्रतिशत शुल्क हटाएको छ। यससँगै भारतीय उद्योगले तेस्रो मुलुकबाट कच्चा पदार्थ सस्तोमा आयात गर्न सक्ने भएकाले नेपाली प्रशोधित तेलको लागतगत प्रतिस्पर्धात्मक लाभ घट्ने व्यवसायीहरूको भनाइ छ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार आव २०८२/८३ मा नेपालले भटमास, पाम र सूर्यमुखी तेल गरी १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको थियो। यसमध्ये भटमासको तेलको हिस्सा सबैभन्दा ठूलो छ।

व्यवसायी विभोर अग्रवालका अनुसार भारतमा नेपाली तेलको माग घटेमा नेपालमा कच्चा तेलको आयातसमेत प्रभावित हुन सक्छ। साथै, निर्यातका लागि प्रशोधन गरिएको तेल स्वदेशमै रहने भएकाले आन्तरिक बजारमा आपूर्ति बढेर मूल्य घट्न सक्ने सम्भावना छ।

भारतको नयाँ शुल्क संरचना लामो समय कायम रहेमा नेपाली खाद्य तेल उद्योगको निर्यात, नाफा, कच्चा पदार्थ आयात र समग्र कारोबारमा असर पर्न सक्ने व्यवसायीहरूको आकलन छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार