ADVERTISEMENT

बैंकका संस्थापक सेयरमा छैनन् खरिदकर्ता


काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित भए पनि खरिदकर्ता पाउन कठिन भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ देखि असोज १२ गतेसम्म विभिन्न वाणिज्य बैंकका करिब २७ लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित भएका छन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्छ । त्यसका लागि ३५ दिनको सूचना प्रकाशित गर्नुपर्ने र खरिदकर्ता नआएपछि थप १५ दिनको सूचना जारी गरेर मात्रै अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिने व्यवस्था छ । नयाँ खरिदकर्ताले ‘फिट एन्ड प्रपर टेस्ट’ समेत पूरा गर्नुपर्छ ।

यही नियामकीय प्रक्रियाका कारण संस्थापक सेयरको कारोबार तुलनात्मक रूपमा जटिल बनेको बजार जानकारहरूको भनाइ छ । बैंकसँगै विकास बैंक, फाइनान्स, लघुवित्त तथा बीमा कम्पनीका संस्थापक सेयरमा समेत खरिदकर्ता अभाव देखिएको छ ।

चालु आवको यस अवधिमा ४ लाख ४७ हजार कित्ता लघुवित्त, १३ लाखभन्दा बढी कित्ता फाइनान्स तथा साढे ४ लाखभन्दा बढी कित्ता विकास बैंकका संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित भएका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीका संस्थापक सेयरधनीले पनि २७ लाख कित्ताभन्दा बढी सेयर बिक्रीका लागि सूचना जारी गरेका छन् ।

रिलायबल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेका अनुसार संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकले तोकेको प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्छ । उनका अनुसार कतिपय अवस्थामा खरिदकर्ता पहिल्यै तय भइसके पनि नियमानुसार सूचना प्रकाशित गर्नुपर्ने हुन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले संस्थापक सेयर कारोबारका लागि नेप्सेको प्रणालीमा समस्या नरहेको बताए । तर खरिदकर्ता तथा बिक्रीकर्ताले आवश्यक कानुनी र नियामकीय मापदण्ड पूरा गर्नुपर्ने भएकाले व्यवहारमा प्रक्रिया केही जटिल देखिएको उनको भनाइ छ ।

बजार जानकारहरू भने संस्थापक सेयरको कारोबारमा रहेको अतिरिक्त प्रक्रिया र सीमित तरलताका कारण लगानीकर्ताको आकर्षण घटेको बताउँछन् । सार्वजनिक सेयर सहज रूपमा किनबेच गर्न सकिने अवस्थामा संस्थापक सेयर खरिद गर्दा लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लगानीकर्ता साधारण सेयरतर्फ आकर्षित हुने उनीहरूको भनाइ छ ।

सेयर बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले संस्थापक सेयरको कारोबारलाई केही सहज बनाएमा यसको तरलता बढ्न सक्ने बताए । उनका अनुसार सार्वजनिक र संस्थापक सेयरको मूल्यमा ठूलो अन्तर नहुँदा पनि सहज कारोबार हुने साधारण सेयरतर्फ लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार