काठमाडौं । सरकारले सुनचाँदी कारोबारलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको छ। आन्तरिक राजस्व विभागले ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै सुनचाँदी तथा गरगहनाको बिक्रीमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरेको हो।
कार्यविधिअनुसार व्यवसायीले उपभोक्ताबाट बिक्रीकै समयमा शुल्क असुल गरी प्रत्येक महिनाको कारोबार तथा शुल्कसम्बन्धी विवरण अर्को महिनाको २५ गतेभित्र राजस्व कार्यालयमा बुझाउनुपर्नेछ।
यस्तै, पुरानो सुनचाँदी वा गरगहना बिक्री गर्ने व्यक्तिले परिचय खुल्ने कागजातसँगै उक्त वस्तु पहिले खरिद गरेको प्रमाण पेस गर्नुपर्नेछ। विदेशबाट ल्याइएको सुनचाँदी भए त्यसको स्रोत वा खरिदसम्बन्धी प्रमाणसमेत आवश्यक पर्नेछ।
पुरानो गहना साटेर सोही तौल बराबरको नयाँ गहना लिँदा सीप शुल्क नलाग्ने व्यवस्था छ। तर थप सुनचाँदी प्रयोग गरी नयाँ गहना बनाएमा थप गरिएको सुनचाँदीको मूल्य र सम्पूर्ण ज्याला–जर्तीमा शुल्क लाग्नेछ।
शुल्क छली गरेको पाइएमा निर्धारित शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। व्यवसायीले बिजक जारी गर्ने, कारोबारको अभिलेख राख्ने तथा कालीगढसँगको कारोबारमा तोकिएको चलान प्रयोग गर्नुपर्ने व्यवस्था पनि कार्यविधिले गरेको छ।

प्रतिक्रिया