काठमाडौं । संघीय निजामती सेवा विधेयक अघि बढिरहेका बेला विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सात जना सहसचिवले एकैपटक राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नै मन्त्रिपरिषद्मा पठाएको छ।
राजीनामा दिने सहसचिवहरूमा केदारनाथ शर्मा, उद्धवप्रसाद रिजाल, चन्द्रप्रसाद भूसाल, जनार्दन गौतम, योगेन्द्रप्रसाद पाण्डे, झनककुमार खत्री र शंकरहरि आचार्य रहेका छन्।
सातै जना सहसचिवले भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएका हुन्। उनीहरुको राजीनामा स्वीकृतिका लागि सामान्य प्रशासन मन्त्रालयले सोमबार नै मन्त्रिपरिषद् पठाएको थियो ।
संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ३० वर्षपछि पेन्सनमा हुने सम्भावित कटौती का कारण पछिल्लो समय लामो समय सेवा गरेका कर्मचारीहरूमा अवकाशअघि नै राजीनामा दिने प्रवृत्ति बढेको बताइन्छ। प्रस्तावित व्यवस्था तत्काल कार्यान्वयनमा आएमा ३४–३५ वर्ष सेवा अवधि पुगेका सहसचिव तथा अन्य कर्मचारीको पेन्सनमा असर पर्न सक्ने भन्दै कर्मचारीहरूमा चासो र चिन्ता देखिएको छ।यही कारणले सात सहसचिवले एकैपटक राजीनामा दिएको हुन सक्ने कर्मचारी वृत्तमा चर्चा छ। यसअघि पनि केही सचिव तथा सहसचिवले राजीनामा दिइसकेका छन्।
मन्त्रिपरिषद्को आजको बैठकले सातै जना सहसचिवको राजीनामा स्वीकृत गर्ने अपेक्षा गरिएको छ। राजीनामा स्वीकृत भएमा लामो सेवा अवधि पूरा गरेका उच्च तहका कर्मचारीले एकैपटक सेवा छाडेको यो पछिल्लो उल्लेखनीय घटनामध्ये एक हुनेछ।

प्रतिक्रिया