ADVERTISEMENT

बीपी राजमार्गमा यातायात सुचारु, ठूला सवारीलाई केही घण्टा रोक


काठमाडौं । अविरल वर्षाका कारण ९ असोजदेखि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। बाढी र पहिरोले क्षति पुर्‍याएका स्थानमा डाइभर्सन निर्माण गरेपछि साना सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलाको बाढीले बगाएका अस्थायी डाइभर्सन पुनर्निर्माण गरिएपछि राजमार्ग खुलाइएको हो।

नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ को माम्तीमा बाढीले डाइभर्सन बगाएको थियो। यस्तै, चौकीडाँडा, चारसयवेशी, गिम्दीवेशी र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी दुई स्थानमा डाइभर्सन निर्माण गरिएको छ। अहिले साना सवारीसाधन सञ्चालनमा आए पनि ६ चक्के मालवाहक सवारी, बस तथा मिनीबसका लागि भने केही घण्टा पर्खनुपर्ने भएको छ। दिउँसोदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार