काठमाडौं । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास तत्कालका लागि असफल भएको छ।
ब्लास्टका लागि पोखराबाट पुगेको नेपाली सेनाको प्राविधिक टोलीले उपयुक्त चट्टान नभेटेपछि काम अघि बढाउन सकेन। नदी थुनिएको क्षेत्रमा गिट्टी, बालुवा, माटो, रुख तथा लेदो थुप्रिएकाले ब्लास्ट गर्न कठिन भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।
ब्लास्ट सम्भव नभएपछि अहिले दुई वटा उपकरण प्रयोग गरी नदी खोतल्ने काम भइरहेको छ। अविरल वर्षापछि घट्टेखोलाबाट आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा मर्स्याङ्दी नदी थुनिएको हो।
नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थाले पनि करिब ४ सय मिटर लामो र ८० मिटर चौडासम्म ताल बनेको छ। ताल करिब २० फिट गहिरो हुन सक्ने प्रशासनले जनाएको छ।
चार दिनदेखिको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जालसमेत अवरुद्ध छन्।

प्रतिक्रिया