ADVERTISEMENT

नयाँ सरकार, नयाँ नारा, नयाँ अनुहार— तर प्रशासन चलाउने पुरानै संस्कार !

चैत्र १३ पछि एउटा आशा थियो—अब कम्तीमा कर्मचारी प्रशासनमा ‘थिति’ बस्छ कि ! तर .....!


……र गलत ठाउँमा गलत मान्छे राखेर बनाइएको सरकारको सुशासनको नारा पनि अन्ततःभित्तामा टाँसिएको सुन्दर पोस्टर मात्रै हुन्छ

सागर पण्डित,काठमाडौं ।
वालेन्द्र  शाह नेतृत्वको सरकारले नयाँ राजनीतिक संस्कारसँगै प्रशासनमा पनि नयाँ संस्कार ल्याउला भन्ने अपेक्षा धेरैको थियो।
मन्त्रालयदेखि विभागसम्म, विभागदेखि जिल्लासम्म—विशेषगरी जनतासँग प्रत्यक्ष जोडिएका संवेदनशील निकायमा ‘राइट म्यान इन द राइट प्लेस’ को अभ्यास सुरु होला भन्ने विश्वास थियो।

तर त्यसका लागि मान्छे खोज्ने तरिका पनि अलि फरक हुनुपर्छ।

कसको फोन आयो ?
कसले कसको नाम भन्यो ?
कसले कसलाई चिनेको छ ?
कसले कहाँ ‘सेटिङ’ मिलाउन सक्छ ?
कसले राजनीतिक नेतृत्वको कुरा काट्दैन ?
कसले आदेशलाई प्रश्न नगरी टाउको हल्लाउँछ ?

यस्ता प्रश्नबाट होइन, अब प्रश्न हुनुपर्छ—

कसले कहाँ बसेर के सुधार गर्‍यो ?
कसको प्रशासनिक रेकर्ड कस्तो छ ?
कसको नैतिक आचरणमाथि प्रश्न उठेको छैन ?
कसले लोभलालचभन्दा जिम्मेवारीलाई माथि राखेको छ ?
कसले चाकडीभन्दा कामलाई प्राथमिकता दिन्छ ?
कसले राजनीतिक नेतृत्वलाई खुसी पार्ने होइन, आवश्यक पर्दा सही र अप्रिय सुझाव दिने साहस राख्छ ?
कसले भ्रष्टाचार नगर्ने मात्र होइन, भ्रष्टाचार हुन नदिने क्षमता पनि राख्छ ?

प्रधानमन्त्रीज्यू र उहाँको टिमले अब यस्ता प्रश्नको उत्तर खोज्नुपर्ने बेला हो।

शाखा अधिकृतदेखि सचिवसम्म—एकएक जनाको प्रोफाइल हेर्ने, विगतको कार्यसम्पादन हेर्ने, नैतिक आचरण हेर्ने, काम गर्ने क्षमता हेर्ने र त्यसपछि मात्र जिम्मेवारी दिने।

संवेदनशील निकायको प्रमुख बनाउने हो भने त झन् सामान्य प्रशासनिक सरुवा जसरी हेरेर पुग्दैन।

त्यहाँ जाने मान्छे इमानदार मात्र भएर पनि पुग्दैन, काबिल पनि हुनुपर्छ।
काबिल मात्र भएर पनि पुग्दैन, नैतिक पनि हुनुपर्छ।
नैतिक मात्र भएर पनि पुग्दैन, निर्णय गर्ने आँट पनि हुनुपर्छ।
आँट मात्र भएर पनि पुग्दैन, परिणाम निकाल्ने क्षमता पनि हुनुपर्छ।

अनि सबैभन्दा महत्वपूर्ण कुरा—

राजनीतिक नेतृत्वलाई ‘हजुर’ भनेर टाउको हल्लाउने होइन, देश र जनताको हितमा आवश्यक पर्दा ‘यो ठीक भएन’ भन्न सक्ने प्रशासक चाहिन्छ।

किनकि प्रशासन राजनीतिक नेतृत्वको ‘कमारो’ होइन।
तर राजनीतिक नेतृत्वलाई असफल बनाउने गरी आफ्नो स्वार्थमा रमाउने प्रशासन पनि स्वीकार्य हुँदैन।

अब ‘आफ्नो मान्छे’ होइन, ‘कामको मान्छे’ खोज्ने बेला हो।
‘हाम्रो मान्छे’ होइन, ‘राज्यको मान्छे’ रोज्ने बेला हो।

चाकडीमा नम्बर आउने होइन, कार्यसम्पादनमा नम्बर आउने व्यवस्था बनाउनुपर्छ।

जसले काम गर्छ, उसलाई जिम्मेवारी।
जसले परिणाम दिन्छ, उसलाई अवसर।
जसको आचरण सफा छ, उसलाई संवेदनशील जिम्मेवारी।
जसले गलतका अगाडि नझुक्ने साहस राख्छ, उसलाई नेतृत्व।

नत्र नयाँ सरकार, नयाँ नारा, नयाँ अनुहार—
तर प्रशासन चलाउने पुरानै संस्कार !

त्यसपछि परिवर्तन कहाँ भयो भनेर खोज्दै हिँड्नुपर्ने हुन्छ।

त्यसैले प्रधानमन्त्री र उहाँको टिमसँग  एउटा सिधा आग्रह छ—संवेदनशील निकायका प्रमुख छान्दा फाइलमा रहेको पद र सेवा अवधि मात्र नहेर्नुस्। मान्छेको इतिहास हेर्नुस्। काम हेर्नुस्। आचरण हेर्नुस्। इमान हेर्नुस्। साहस हेर्नुस्। परिणाम हेर्नुस्।

र त्यसपछि मात्रै निर्णय गर्नुस्—Right Man in the Right Place.

किनकि सुशासन भाषणले होइन,
सही ठाउँमा सही मान्छे राखेर सुरु हुन्छ।

र गलत ठाउँमा गलत मान्छे राखेर बनाइएको सरकारको सुशासनको नारा पनि अन्ततः
भित्तामा टाँसिएको सुन्दर पोस्टर मात्रै हुन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार