काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरी नियन्त्रणमा लिइएको विषयमा अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेटघाट गर्न नदिएको भन्दै आपत्ति जनाएको छ।
आयोगका अनुसार आइतबार सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली टेकुस्थित प्रहरी कार्यालय पुगेको थियो। टोलीले जबरासँग भेटेर उनको अवस्थाबारे जानकारी लिन खोजे पनि प्रहरी प्रशासनले अनुमति नदिएको आयोगले जनाएको छ। प्रहरीको उच्च नेतृत्वसँग समेत छलफल गर्दा भेट्न नदिएको कारण स्पष्ट नपारिएको आयोगको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) ले आयोगलाई आवश्यकताअनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने अधिकार दिएको उल्लेख गर्दै आयोगले आफ्नो संवैधानिक तथा कानुनी अधिकारमा अवरोध गरिएको जनाएको छ।
आयोगले आफ्नो दायित्व पूरा गर्ने कार्यमा अवरोध पुर्याउने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न तथा आयोगको अधिकारको पूर्ण सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो।
जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि आइतबार नै रिहा गरेको जनाइएको छ।


प्रतिक्रिया