काठमाडौं ।नेपाली कांग्रेस पछिल्लो समय वैचारिक दिशाहीनता, गुटबन्दी र संगठनात्मक कमजोरीको संकटमा रहेको भन्दै पार्टीलाई संस्थापक आदर्शतर्फ फर्किनुपर्ने आवश्यकता औँल्याइएको छ।
‘प्रजातान्त्रिक विचार समाज’द्वारा समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिकाबारे आयोजित कार्यक्रममा प्रस्तुत दृष्टिकोणमा कांग्रेसको ऐतिहासिक योगदान महत्वपूर्ण भए पनि त्यसलाई आधुनिक वैधता र प्रभावमा रूपान्तरण गर्न नसकेको टिप्पणी गरिएको छ।
कार्यक्रममा कांग्रेसको स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, संवैधानिकता र नागरिक स्वतन्त्रताका आदर्श कमजोर हुँदै गएको उल्लेख गर्दै पार्टी सत्ताकेन्द्रित र गुटमुखी बन्दै गएको विश्लेषण गरिएको थियो। नेतृत्व विकास, उम्मेदवार छनोट, नीति निर्माण र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न नसक्दा पार्टीको सामाजिक आधारसमेत कमजोर हुँदै गएको दाबी गरिएको छ।
प्रस्तुत अवधारणामा सिंगापुरको पिपुल्स एक्सन पार्टी, न्युजिल्यान्डका प्रमुख राजनीतिक दल, स्विडेनका सामाजिक लोकतान्त्रिक तथा अन्य दल र जर्मनीको पार्टी प्रणालीका उदाहरण दिँदै राजनीतिक दलको दीर्घकालीन शक्ति वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, नीति अनुसन्धान र नेतृत्व विकासमा निर्भर हुने उल्लेख गरिएको छ।
कांग्रेसलाई पुनर्जीवन दिन पारदर्शी सदस्यता प्रणाली, सदस्यमा आधारित उम्मेदवार छनोट, नेतृत्वमा कार्यकाल सीमा, नीति अनुसन्धान तथा प्रशिक्षण संयन्त्र, आर्थिक पारदर्शिता र युवालाई वास्तविक नेतृत्वको अवसर दिनुपर्ने सुझाव प्रस्तुत गरिएको छ। साथै समाजका विभिन्न वर्ग र पेशाबाट आएका स्वच्छ तथा सक्षम व्यक्तिलाई पार्टीको नेतृत्व र उम्मेदवारी प्रक्रियामा जोड्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा बीपी कोइरालाको ‘आत्मवृत्तान्त’ लाई कांग्रेसको संस्थापक आदर्श र नेपाली लोकतन्त्रको नैतिक आधार बुझ्न महत्वपूर्ण सन्दर्भका रूपमा प्रस्तुत गरिएको थियो। बीपीको राजनीतिक दृष्टिमा सत्ता साध्य नभई साधन र नेतृत्व सुविधा नभई जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताले संस्थापक नेताका विचार र आदर्शलाई पुनः अध्ययन गर्नुपर्ने धारणा राखिएको थियो।
समग्रमा, कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई केवल विगतको उपलब्धिका रूपमा प्रस्तुत गर्नुको सट्टा आन्तरिक लोकतन्त्र, स्वच्छ शासन, सामाजिक प्रतिनिधित्व र स्पष्ट नीतिमार्फत आधुनिक राजनीतिक वैधता निर्माण गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरिएको छ।

प्रतिक्रिया