काठमाडौँ । पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ। पश्चिमी क्षेत्रमा आज र भोलिसम्म वर्षाको प्रभाव कायम रहने अनुमान गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणाली तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पश्चिम नेपालमा बढी वर्षा भएको हो।
महाशाखाले जोखिमको अवस्थाअनुसार पश्चिमी क्षेत्रमा ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी जारी गरेको छ। विशेषगरी पहिरो, डुबान र कटानको जोखिम भएका क्षेत्रमा आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ।
पूर्वी नेपालमा भने वर्षा क्रमशः घट्दै गएको छ। भोलि रातिदेखि देशभर मौसममा सुधार आउने र सोमबारदेखि अधिकांश भूभागको मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया