काठमाडौँ । देशका प्रमुख नदी तथा सहायक नदीमा जल सतह बढेसँगै विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणीलगायत नदीमा जल सतह सतर्कता तहभन्दा माथि पुगेको छ भने बागमती, पश्चिम राप्ती र बबई नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ।
महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। गोरखा, कास्की, लमजुङ, नवलपरासी, रुपन्देही, म्याग्दी, बागलुङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरालगायत जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ उपत्यकासहित देशका अन्य पहाडी तथा तराईका जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको छ। आगामी एक–दुई दिन प्रमुख नदीमा जल सतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान हुने होचा भूभागका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया