काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। विशेषगरी बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल प्रभावित हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
ललितपुरको भट्टेडाँडा र गोदावरीको बिखेंधारामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी र धुलिखेल क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग र अरनिको राजमार्ग बन्द भएका छन्। धादिङको बेनीघाट, कृष्णभीर र गजुरी क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा समेत यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रसुवा र नुवाकोटका विभिन्न सडकखण्ड लामो समयदेखि अवरुद्ध छन्। मकवानपुरको भीमफेदी र नेवारपानीमा पहिरो गएपछि कान्ति लोकपथ र महेन्द्र राजमार्ग प्रभावित भएका छन्।
कोशी प्रदेशमा पनि बाढी तथा पहिरोले सडक यातायात प्रभावित बनाएको छ। ओखलढुंगाको भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग तथा पाँचथरका नावाखोला र दोभाने खोलामा आएको बाढी–पहिरोले तमोर करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ। कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुर तथा बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर र दोलखामा रातिको समयमा अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
यद्यपि, एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई प्रहरीको समन्वयमा सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया