कोशी ब्यारेजका ४३ ढोका खोलिए


सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजे मापन गरिएको पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेपछि ब्यारेजका ४३ ढोका खोलिएको हो। यसअघि शुक्रबार बिहान १ लाख ९८ हजार २ सय २० क्युसेक बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए।

बहाव बढेसँगै कोशी ब्यारेजमा जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ। वर्षा जारी रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न अनुरोध गरेको छ। कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार