आजदेखि वर्षा बढ्ने, रातिदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा, उच्च जोखिम


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने र मौसमजन्य विपद्को जोखिम रहने जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार मध्य तथा पूर्वी नेपालमा वर्षाको प्रभाव बढी रहनेछ। बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका विभिन्न पहाडी तथा तराई क्षेत्रमा उच्च जोखिम रहेको जनाइएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका अधिकांश भूभागलाई पनि सतर्क रहन आग्रह गरिएको छ।

शनिबार वर्षाको जोखिम थप व्यापक हुने अनुमान छ। यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका धेरै पहाडी तथा हिमाली क्षेत्रमा उच्च जोखिम रहनेछ।

आइतबारदेखि मौसम प्रणाली पश्चिमतर्फ सर्दै जाने र पूर्वी क्षेत्रमा मौसम सुधार हुने महाशाखाको अनुमान छ। सोमबारदेखि अधिकांश भूभागमा मौसममा सुधार आउने र मंगलबार देशभर चेतावनीमुक्त अवस्था रहने प्रक्षेपण गरिएको छ।

महाशाखाले शुक्रबार र शनिबार नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च जोखिममा रहेका क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा रहन भनिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार