६३ मेगावाटको छुजुङ खोलालाई ९ अर्ब ऋण जुट्यो


काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ।

सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा प्रभु बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले सहवित्तीयकरणमार्फत ऋण लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ भने बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट लगानी हुनेछ।

आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन हुने प्रक्षेपण छ। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको आयोजनाको विद्युत शीतलपाटीस्थित २२० केभी सबस्टेसनमा जोडिनेछ। त्यसका लागि ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।

आयोजनाको पहुँचमार्गतर्फ १४ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने क्याम्प निर्माण र आवश्यक रुख कटानको कामसमेत सकिएको कम्पनीले जनाएको छ। आयोजनाको विद्युतगृह भूमिगत हुने प्रस्ताव गरिएको छ।

कम्पनीका अनुसार आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि पहिलो वर्ष करिब २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ। नवौं वर्षमा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ।

आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भएको कम्पनीले जनाएको छ।

यसैबीच, सांग्रिला ऊर्जाले बाजुराको विछ्या क्षेत्रमा १७१ मेगावाट क्षमताको छिम्दी–कवाडी खोला जलाशययुक्त जलविद्युत आयोजना पनि अघि बढाउने भएको छ। उक्त आयोजनाको हाल सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार