वर्षाले फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर फोहोर ननिकाल्न महानगरको आग्रह


काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहोर सङ्कलन तथा ढुवानी प्रभावित भएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै ल्यान्डफिल साइटमा पहिरो र लेदो खस्ने क्रम जारी रहेकाले फोहोर व्यवस्थापनमा समस्या भएको जनाएको हो।

ल्यान्डफिल साइटसम्म फोहोर बोकेका सवारीसाधन पुग्न तथा फोहोर विसर्जन गर्न कठिनाइ भएपछि नियमित सङ्कलन तथा ढुवानी सेवा अनिश्चित समयका लागि प्रभावित हुने महानगरले जनाएको छ।

महानगरले फोहोर सङ्कलन नियमित नहुन्जेल घर, पसल तथा परिसरबाट निस्कने फोहोर सुरक्षित रूपमा आफ्नै परिसरमा राख्न आग्रह गरेको छ। साथै जैविक र अजैविक फोहोर छुट्टाछुट्टै राख्न तथा सडक, चोक, सार्वजनिक स्थल र खोलानालामा फोहोर नफाल्न अनुरोध गरेको छ।

जथाभावी फोहोर फाल्दा ढल तथा नाला बन्द भई वर्षाका बेला बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले महानगरले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार