काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका छन्।
न्युयोर्कमा आयोजित ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाललाई ‘सानो मुलुक’का रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। उनले दुई ठूला छिमेकीबीचको अवस्थालाई नेपालको महत्वाकांक्षाको सीमा बनाउन नहुने धारणा राखे।
मन्त्री खनालले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकता बनाउनुपर्ने बताए। प्रभावकारी पूर्वसूचना प्रणाली, जलवायु वित्त, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले नेपालको जलविद्युत्, सीमावर्ती विशेष आर्थिक क्षेत्र, डिजिटल सम्पर्क तथा ट्रान्स–हिमालयन कनेक्टिभिटीमार्फत क्षेत्रीय आर्थिक गतिविधिमा नेपालको भूमिका विस्तार गर्न सकिने बताए। सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा र सीमापार रेलसहितको पूर्वाधार विकासमा चीनलगायत साझेदारसँग दीर्घकालीन सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
नेपालको भविष्य नेपाली जनताले निर्धारण गर्ने भन्दै मन्त्री खनालले अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका तथा अन्य साझेदारलाई नेपालमा लगानी र सहकार्यका लागि आह्वान गरे।

प्रतिक्रिया