जलविद्युत्ले धानेको नेपालको वृद्धि, बाह्य जोखिम उच्च


काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले जलविद्युत् उत्पादन विस्तारले नेपालको आर्थिक गतिविधिलाई टेवा दिइरहे पनि बाह्य जोखिम उच्च रहेको जनाएको छ।

एडीबीको ‘एसियन डेभलपमेन्ट आउटलुक–सेप्टेम्बर २०२६’ अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२६ मा ३.९ प्रतिशत र २०२७ मा ४ प्रतिशतभन्दा माथि रहने प्रक्षेपण गरिएको छ। नयाँ जलविद्युत् आयोजना र विद्युत् उत्पादन विस्तारले उद्योग, निर्यात तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने एडीबीको आकलन छ।

तर मध्यपूर्वको द्वन्द्व, ऊर्जा मूल्यमा उतारचढाव, विश्व व्यापारमा अनिश्चितता र मौसमजन्य जोखिमले नेपालको आर्थिक वृद्धिमा दबाब पार्न सक्ने एडीबीले जनाएको छ। विशेषगरी इन्धनको मूल्य बढ्दा आयात, ढुवानी र उत्पादन लागत बढ्ने तथा मुद्रास्फीतिमा दबाब पर्न सक्ने जोखिम छ।

मध्यपूर्वको द्वन्द्व लम्बिए खाडी मुलुकमा रहेका नेपाली श्रमिकको रोजगारी र विप्रेषण प्रभावित हुन सक्ने तथा अन्तर्राष्ट्रिय यात्रा महँगिए पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने एडीबीको विश्लेषण छ।

एडीबीले सन् २०२६ मा नेपालको मुद्रास्फीति ३.२ प्रतिशत र २०२७ मा ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। बाढी, पहिरो, सुक्खा तथा एल निनोका कारण कृषि र जलविद्युत् उत्पादन प्रभावित भए खाद्यान्न तथा ऊर्जा मूल्यमा समेत दबाब पर्न सक्ने जनाइएको छ।

यससँगै बाढी तथा प्राकृतिक विपद्पछि पुनर्निर्माणमा सरकारी खर्च बढ्ने भएकाले सार्वजनिक वित्त व्यवस्थापनमा पनि चुनौती थपिन सक्ने एडीबीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार