काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज बुधबार अमेरिकी राजधानी वासिङ्टन पुग्दैछन्। उनको अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष स्वागत गर्ने तयारी गरिएको छ।
सीलाई स्वागत गर्न ट्रम्प आफैं एन्ड्रयूज एयर फोर्स बेस पुग्न सक्ने बताइएको छ। बिहीबार ह्वाइट हाउसमा सीको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना हुनेछ, जहाँ सैन्य फ्लाईओभरसहित करिब ५०० अमेरिकी सैन्य कर्मचारी सहभागी हुनेछन्।
शुक्रबारसम्म चल्ने भ्रमणका क्रममा औपचारिक स्वागत समारोह, रात्रिभोज, निजी भ्रमणलगायत कार्यक्रम तय गरिएको छ। करिब एक दशकपछि हुन लागेको सीको अमेरिका भ्रमणलाई दुई देशबीचको सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।
सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सीबीच भएको भेटवार्तामा भएको व्यापार सम्झौताको अवधि नोभेम्बरमा सकिँदैछ। उक्त सम्झौताअनुसार अमेरिकाले चिनियाँ सामानमा प्रस्तावित थप कर वृद्धि तत्काल लागू नगर्ने र चीनले दुर्लभ खनिजको निर्यातमा लगाएका केही प्रतिबन्ध खुकुलो बनाउने सहमति भएको थियो।
ट्रम्प अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालमा फर्किएपछि सीसँग हुन लागेको यो तेस्रो भेटवार्ता हो।

प्रतिक्रिया