काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको छ। भाद्र शुक्ल द्वादशीका दिन धार्मिक विधिपूर्वक लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने परम्परा छ।
इन्द्रजात्राका क्रममा विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजा गरिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने तथा विजय उत्सवका रूपमा समेत यो पर्व मनाइन्छ।
जात्राका क्रममा कुमारी, गणेश र भैरवको रथयात्रा, लाखे, पुलुकिसी, महाकाली, भक्कु तथा दशअवतारलगायतका नाच प्रदर्शन गरिन्छ। आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने परम्परा छ।
नेवारी समुदायको प्रमुख पर्वका रूपमा रहेको इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा पनि धुमधामका साथ मनाइन्छ।

प्रतिक्रिया