नयाँ पुँजीगत लाभकरसँगै नेप्से बढ्यो


काठमाडौँ। सरकारले व्यक्तिगत लगानीकर्ताको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने पुँजीगत लाभकर घटाएको व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेसँगै मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ।

मंगलबार ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार कित्ता सेयर ७० हजार ६९१ पटक कारोबार हुँदा कुल ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो।

कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रह्यो। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४० करोड ३६ लाख र घलेम्दी हाइड्रोको २२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।

मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँ पुगेको छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको हो।

यसैबीच, नयाँ व्यवस्थाअनुसार व्यक्तिगत लगानीकर्ताले ३६५ दिनभन्दा बढी सेयर होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। कर बिक्री रकममा नभई वास्तविक लाभमा मात्र लाग्नेछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार