काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।
प्रहरीका अनुसार अर्जुनले विभिन्न समयमा अन्य व्यक्तिको नाममा जारी सवारीचालक अनुमतिपत्र, नागरिकता र बैंक खाता प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गत कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा पनि उनी संलग्न रहेको र त्यसपछि फरार रहेको प्रहरीले जनाएको छ। उक्त घटनामा उनले सुनील तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको पाइएको थियो।
यस्तै, करिब तीन महिनाअघि मूलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा अर्जुनले दावा तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
अन्य व्यक्तिका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया