काठमाडौँ। साउदी अरेबियाले इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबी गर्दै आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइनको तेल आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ।
साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार सेप्टेम्बर १० बिहान पाइपलाइनमा लगातार ड्रोन आक्रमण हुँदा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। थप क्षति रोक्न र सुरक्षा सुनिश्चित गर्न तेलको आवागमन रोकिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।
साउदी विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै ड्रोनहरू इराकी भूभागबाट आएको दाबी गरेको छ। तर, इराकी प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न समय दिन आग्रह गरेपछि साउदीले तत्काल प्रतिकारात्मक कदम नचाल्ने जनाएको छ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापनाको काम भइरहेको छ। साउदीले इराकी सरकारको प्रयासलाई समर्थन गर्ने जनाउँदै आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित राखेको स्पष्ट पारेको छ।




प्रतिक्रिया