ADVERTISEMENT

बाढीले १२ जलविद्युत आयोजना प्रभावित, ९०९ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार प्रभावित आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ। सञ्चालनमा रहेका आयोजनाको क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट छ।

बाढीबाट प्रभावित ११ आयोजनामा कार्यरत ९०९ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। विशेषगरी रसुवामा रहेका जलविद्युत आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको छ। आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७८ जनाको उद्धार गरिएको र ७ जनाको शव फेला परेको जनाइएको छ। सम्पर्कविहीनमध्ये ९ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक छन्।

त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि बाढीबाट पूर्णरूपमा प्रभावित भएको छ। उक्त आयोजनामा ९३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीबाट माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मिडल त्रिशूली, गंगा, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत आयोजना पनि प्रभावित भएका छन्। त्रिशूली र देवीघाट जलविद्युत केन्द्रमा समेत बाढीको असर परेको छ। त्रिशूली केन्द्रमा तीन जना र देवीघाटमा एक सुरक्षागार्ड सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार