लोकसेवामा बेरोजगारीको बाढी कि सरकारी सेवाप्रतिको आकर्षण ?२३८३ पदमा झण्डै चार लाखको भिडन्त, महिलाको हिस्सा ५२.४७ प्रतिशत

सर्लाहीदेखि सप्तरीसम्म दरखास्तको चाप, मनाङ–मुस्ताङ–रसुवामा भने न्यून आकर्षण ,उम्मेदवारको औसत उमेर २७ वर्ष, ७१८ विज्ञापनबाट २१ हजार ५८४ उम्मेदवार अन्तर्वाताका लागि  छनोट


सागर पण्डित, काठमाडौं ।

लोकसेवा आयोगले सरकारी सेवामा प्रवेशका लागि सञ्चालन गर्ने प्रतिस्पर्धात्मक परीक्षाप्रति युवाको आकर्षण कति छ ? यसको एउटा बलियो तस्वीर आयोगको ६७औँ वार्षिक प्रतिवेदनले देखाएको छ ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेश गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सञ्चालन भएका परीक्षामा २ हजार ३ सय ८३ पदका लागि ३ लाख ८२ हजार ९ सय ४७ दरखास्त परेका छन् । अर्थात् सीमित सरकारी रोजगारीका लागि लाखौँ युवा प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

दरखास्त दिनेमा महिलाको संख्या पुरुषको भन्दा बढी छ । कुल दरखास्तमध्ये २ लाख ९ सय ३० जना महिला अर्थात् ५२.४७ प्रतिशत र १ लाख ८२ हजार १७ जना पुरुष अर्थात् ४७.५३ प्रतिशत रहेका छन् ।

यो तथ्यांकले एकातर्फ मुलुकमा रोजगारीको अवसर र सरकारी सेवाप्रतिको प्रतिस्पर्धा कति तीव्र छ भन्ने देखाउँछ भने अर्कोतर्फ लोकसेवा परीक्षामा महिलाको बढ्दो आकर्षणलाई समेत उजागर गरेको छ ।

आयोगका प्रवक्ता पुरुषोत्तम शर्माका अनुसार विगतका वर्षमा जस्तै यस वर्ष पनि ७७ वटै जिल्लाबाट दरखास्त प्राप्त भएका छन् ।

कुन जिल्लाबाट कति आकर्षण ?

आयोगका अनुसार सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला क्रमशः सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी हुन् ।

त्यसैगरी सबैभन्दा कम दरखास्त पर्ने पाँच जिल्ला मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पा रहेका छन् ।

यसले लोकसेवाको आकर्षण भूगोलअनुसार समान नभएको देखाउँछ । तराई तथा बाक्लो जनसंख्या भएका जिल्लाबाट ठूलो संख्यामा आवेदन आउँदा दुर्गम तथा हिमाली जिल्लाबाट आवेदनको संख्या तुलनात्मक रूपमा न्यून देखिएको छ ।

लोकसेवाको तथ्यांकले देखाएको ठूलो तस्वीर,एकातिर लाखौँ युवा, अर्कोतिर सीमित सरकारी पद

३ लाख ८२ हजार ९४७ दरखास्त र सीमित पदसंख्याबीचको अन्तरले नेपालको रोजगारी बजारको गम्भीर तस्वीर देखाउँछ । लोकसेवा परीक्षा केवल सरकारी जागिरको प्रतिस्पर्धा मात्र नभई स्थायित्व, सामाजिक प्रतिष्ठा र सुरक्षित भविष्यका लागि युवाले रोजेको प्रमुख बाटोका रूपमा समेत देखिन्छ ।

अझ रोचक पक्ष, दरखास्त दिनेमा महिला ५२.४७ प्रतिशत पुगेका छन् । यसले पछिल्लो समय सरकारी सेवामा महिलाको आकर्षण र प्रतिस्पर्धात्मक सहभागिता उल्लेख्य रूपमा बढेको संकेत गर्छ ।

त्यस्तै उम्मेदवारको औसत उमेर २७ वर्ष र सिफारिस हुनेको औसत उमेर २८ वर्ष हुनु पनि अर्को महत्वपूर्ण तथ्य हो । अर्थात् नेपालको ठूलो युवा जनशक्ति अझै पनि लोकसेवामार्फत स्थायी रोजगारीको खोजीमा रहेको देखिन्छ ।

७७ जिल्लाबाट आवेदन, तर भूगोलमा ठूलो असमानता

सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरीबाट ठूलो संख्यामा आवेदन आउँदा मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पाबाट न्यून आवेदन परेको तथ्यले शिक्षा, सूचना, पहुँच, रोजगारीको विकल्प र भौगोलिक अवस्थाबीचको सम्बन्धलाई समेत बहसमा ल्याएको छ ।

प्रशासनपोस्टको निष्कर्ष

लोकसेवामा भीड बढ्नु केवल आयोगप्रतिको आकर्षणको कथा होइन, यो नेपालको रोजगारी संरचनाको ऐना पनि हो ।

सरकारी सेवामा प्रवेशका लागि एउटै पदमा सयौँ युवाले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसैले अब प्रश्न केवल ‘लोकसेवा किन लोकप्रिय भयो ?’ भन्ने होइन—‘यति ठूलो युवा जनशक्तिलाई सरकारी सेवाबाहिर रोजगारी र अवसरको अर्को ढोका राज्यले कहिले खोल्छ ?’ भन्ने पनि हो ।

६७औँ वार्षिक प्रतिवेदनले लोकसेवा आयोगको एक वर्षको काम मात्र देखाएको छैन, यसले नेपालको युवा रोजगारी, सरकारी सेवाप्रतिको आकर्षण, समावेशिता र राज्यको रोजगारी नीतिमाथि गम्भीर बहसको आधारसमेत दिएको छ ।

६७औँ प्रतिवेदनका १५ ‘हिट’ तथ्य

लोकसेवाले एक वर्षमा के गर्‍यो ?

आयोगले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका प्रमुख काम तथा उपलब्धि यस्ता छन्–

१. परीक्षा सञ्चालनको कार्यतालिका फेरबदल
आयोगले लामो समयदेखि प्रयोग हुँदै आएको परीक्षा/विज्ञापनसम्बन्धी कार्यतालिकालाई पुनरावलोकन गरी अप्राविधिक तथा प्राविधिक पदका विज्ञापन र परीक्षालाई थप व्यवस्थित ढंगले सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

२. ३१५ वटा पाठ्यक्रम निर्माण/परिमार्जन तथा स्वीकृत
निजामती सेवातर्फ १२ वटा, सुरक्षा निकायतर्फ १२ वटा तथा संगठित संस्थाका विभिन्न २९१ वटा पाठ्यक्रम निर्माण, परिमार्जन तथा स्वीकृत गरिएको छ ।

३. २ हजार २८१ पदका लागि विज्ञापन
विभिन्न निकायबाट माग भएका पदपूर्तिका आधारमा २ हजार २८१ पदका लागि १ हजार २५१ वटा विज्ञापन प्रकाशन गरिएको आयोगको विवरणमा उल्लेख छ ।

४. ३ लाख ८२ हजार ९४७ दरखास्त
अनलाइन दरखास्त प्रणालीमार्फत कुल ३,८२,९४७ दरखास्त संकलन भएका छन् । तीमध्ये २,००,९३० महिला र १,८२,०१७ पुरुष छन् । आयोगका अनुसार दरखास्त दिने उम्मेदवारको औसत उमेर २७ वर्ष रहेको छ ।

५. ७७ वटै जिल्लाबाट आवेदन
लोकसेवा परीक्षाप्रतिको आकर्षण देशव्यापी देखिएको छ । सबै ७७ जिल्लाबाट दरखास्त परेको छ । सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरीबाट तथा सबैभन्दा कम मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पाबाट परेको छ ।

६. १,३८१ सेट प्रश्नपत्र तयार
विभिन्न परीक्षाका लागि आयोगले प्रतिवेदन अवधिमा १ हजार ३८१ सेट प्रश्नपत्र तयार गरी परीक्षामा प्रयोग गरेको छ ।

७. ५ लाख ९५ हजारभन्दा बढी उत्तरपुस्तिका संकेताङ्कन
निजामती सेवातर्फ १,११,४१२, सुरक्षा निकायतर्फ २,७१,४३६, संगठित संस्थातर्फ १,९७,८३३ र विश्वविद्यालयतर्फ १४,४९५ गरी कुल ५,९५,१७६ उत्तरपुस्तिका संकेताङ्कन गरी परीक्षण प्रक्रियामा लगिएको छ ।

८. १,८४० उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस
निजामती सेवातर्फ १,७९८ जना, संगठित संस्थातर्फ ३० जना र राष्ट्रिय मानव अधिकार आयोगतर्फ १६ जना गरी कुल १,८४४ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

९. सिफारिस हुनेको औसत उमेर २८ वर्ष
प्रतिवेदन अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको औसत उमेर २८ वर्ष रहेको छ । अर्थात् सरकारी सेवामा प्रवेश गर्ने ठूलो हिस्सा अझै युवा पुस्ताकै रहेको देखिन्छ ।

१०. समावेशीतर्फ ७४१ उम्मेदवार सिफारिस
विभिन्न समावेशी समूहलाई लक्षित विज्ञापनबाट ७४१ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । यसमा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका उम्मेदवार समेटिएका छन् । पछिल्लो १९ वर्षमा यस्ता समावेशी विज्ञापनबाट २५ हजारभन्दा बढी उम्मेदवार सिफारिस भइसकेको आयोगले जनाएको छ ।

११. समावेशी उम्मेदवार खुलातर्फ पनि प्रतिस्पर्धी
समावेशी समूहका उम्मेदवार लक्षित विज्ञापनका अतिरिक्त खुला विज्ञापनबाट समेत उल्लेख्य संख्यामा उम्मेदवार सिफारिस भएका छन् । महिला तथा पिछडिएको क्षेत्र लक्षित विज्ञापनबाट सिफारिस हुनेभन्दा खुलातर्फ सिफारिस हुने सो समूहका उम्मेदवारको संख्या कतिपय अवस्थामा बढी देखिएको छ ।

१२. ५ लोकसेवा, ७ सुरक्षा निकाय र ९५ संगठित संस्थासँग सहकार्य
आयोगले ५ वटा प्रदेश लोक सेवा आयोग, ७ वटा सुरक्षा निकाय र ९५ वटा संगठित संस्थाको पदपूर्ति प्रक्रियामा प्रतिनिधित्व गरेको छ । प्रतिवेदन अवधिमा विभिन्न निकायका २६,९५८ पदको पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने सहमति प्रदान गरिएको छ ।

१३. ७१८ विज्ञापनबाट २१ हजार ५८४ उम्मेदवार छनोट
विभिन्न ४३ वटा निकायका ७१८ विज्ञापनका लागि आयोगबाट सञ्चालित लिखित परीक्षाबाट २१,५८४ उम्मेदवार छनोट गरी अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

१४. कर्मचारीसम्बन्धी कानुन र विभागीय सजायमा आयोगको परामर्श
कर्मचारी सेवा–सर्तसम्बन्धी कानुनका विषयमा २३ वटा तथा विभागीय सजायसम्बन्धी विषयमा १५ वटा परामर्श प्रदान गरिएको छ । विभिन्न बढुवा समितिबाट भएका निर्णयविरुद्ध ३६ वटा उजुरी आयोगमा प्राप्त भएकामा १० वटा बढुवा सिफारिस संशोधन गर्ने गरी निर्णय गरिएको छ ।

१५. आयोगका निर्णयविरुद्ध ११७ पुनरावेदन/रिट
आयोगबाट सम्पादन भएका कामकारबाहीविरुद्ध सर्वोच्च अदालतमा ७५, उच्च अदालतमा २४ र प्रशासनिक अदालतमा १८ गरी कुल ११७ वटा पुनरावेदन/रिट निवेदन परेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार