‘बैंकमा पैसा छ, लगानीको वातावरण छैन’ : अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको बैंकिङ प्रणालीमा पर्याप्त पुँजी भए पनि उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अहिलेको मुख्य समस्या पुँजीको अभाव नभई लगानीको विश्वास र अनुकूल वातावरणको अभाव भएको बताए। ब्याजदर घटे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको उनको भनाइ छ।

वाग्लेले पुँजी बजार सुधारका लागि १० देखि १२ बुँदे कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए। घरजग्गा कारोबारको मन्दी र सहकारी संकट समाधानका लागि पनि नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको उनले बताए।

सरकारले निष्क्रिय उद्योग तथा सम्पत्ति निजी क्षेत्रलाई सञ्चालन वा लिजमा उपलब्ध गराउने नीति अघि बढाएको उल्लेख गर्दै उनले कानुनी अवरोध हटाएर लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए। उनका अनुसार बैंकमा रहेको पुँजीलाई उद्योग, उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा परिचालन गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार